जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पिडित सहायता कक्ष सञ्चालन

मेचीकाली संवाददाता

१५ बैशाख २०८०, शुक्रबार
793 shares

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनुचित लेनदेन सम्बन्धि पिडित सहायता कक्ष सञ्चालन गरेको छ । बैशाख १७ गतेदेखि बैशाख ३१ गतेसम्म मिटर ब्याजी पीडितहरुले आफ्नो सपुुत प्रमाण सहित व्यहोरा खुलाई जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुमा संचालन गरिएको अनुचित लेनदेन (मिटर व्याज) पीडित सहायता कक्षमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ ।

अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धि जाँचबुझ आयोग , २०७९ सम्पर्क कार्यालय , गृह मन्त्रालय सिंहदरबार काठमाडौंको च.न. ०६ मिति २०८० बैशाख ८, च.न. १० मिति २०८० बैशाख १३ र च.न. १२ मिति २०८० बैशाख १४ गतेको प्राप्त पत्र अनुसार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मिटर ब्याजी पीडितहरुका लागि पीडित सहायता कक्ष संचालनमा ल्याएको हो ।

जिल्लाका मिटर व्याजी पीडितहरुका लागि आवश्यक निवेदन फारम कार्यालयले निशुल्क उपलब्ध गराउने तथा निवेदन फारम कार्यालयका कर्मचारीले भरिदिने व्यवस्था समेत गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनु भयो ।

यस भन्दा अगाडी कार्यालयमा दर्ता हुन आएका मिटर व्याज सम्बन्धि उजुरीहरुका निवेदनहरु समेत बैशाख १७ गते देखि बैशाख ३१ गते भित्र कार्यालयमा अनिवार्य रुपमा उपस्थित भई मिटर ब्याज पीडित सहायता कक्षमा सम्पर्क गरी अनलाईन निवेदन दर्ता गर्न उजुरवालाहरु लाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ ।