बुटवलको मिलनचोकमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज सञ्चालनमा

मेचीकाली संवाददाता

१५ कार्तिक २०८३, शनिबार
1 shares

बुटवल । बुटवलमा चार जना युवा व्यवसायीको संयुक्त लगानीमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज (भुलभुलैया) सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्स रहेको पुरानो स्थानमा नयाँ प्रविधि र फरक अवधारणामा आधारित मनोरञ्जन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिले बुटवलमा आउने आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयवासीलाई मनोरञ्जनको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले मनोरञ्जन केन्द्र सञ्चालनमा ल्याएको हो । बुटवलका युवा व्यवसायी प्रकाश भुसाल, दीपक ढकाल, सुदीप काफ्ले र सिद्धार्थ थापाले संयुक्त रूपमा यसमा लगानी गरेका छन् ।

सञ्चालक प्रकाश भुसालका अनुसार एक साताअघिदेखि परीक्षणका रूपमा सञ्चालन भइरहेको मनोरञ्जन केन्द्रको यहि कात्तिक १५ गते औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ । बुटवलमा मनोरञ्जनका नयाँ गतिविधि थप्दै स्थानीयसँगै बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले परियोजना अघि बढाइएको भुसालले बताए । उनले मनोरञ्जन केन्द्रले स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढाउनुका साथै बुटवल आउने पर्यटकलाई थप समय बिताउन आकर्षित गर्ने विश्वास व्यक्त गरे । भुसालका अनुसार मनोरञ्जन केन्द्रमा हालसम्म करिब साढे दुई करोड रुपैयाँ लगानी भइसकेको छ । दर्शकले सय भन्दा बढी बिभिन्न प्रकारका चलचित्र हेर्न सक्नेछन् । आगामी दिनमा मनोरञ्जन केन्द्रमा विभिन्न नयाँ तथा प्रविधिमा आधारित गेमहरू समेत थप गर्दै सेवा विस्तार गर्ने योजना रहेको उनले बताए ।

अर्का सञ्चालक दीपक ढकालले बुटवलमा आउने बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका पर्यटकका लागि नयाँ मनोरञ्जन गन्तव्य थपिएको बताए । उनका अनुसार यहाँ मुख्य आकर्षणका रूपमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज रहनेछन् । १८ डी प्लस मुभी थिएटरमा चलचित्र तथा दृश्य हेर्दा पर्दामा देखिने दृश्यसँगै आफू पनि प्रत्यक्ष रूपमा त्यही वातावरणमा पुगेको अनुभूति गर्न सकिने ढकालले बताए । चलचित्रमा देखाइने दृश्यअनुसार आफू पुगेको महसुस गर्न सकिने भएकाले दर्शकले फरक किसिमको मनोरञ्जन लिन सक्ने उनको भनाइ छ ।

त्यस्तै, मिरर मेज अर्थात् भुलभुलैयामा चारैतिर ऐना जडान गरिएको संरचनाभित्र प्रवेश गरेर बाहिर निस्कने बाटो खोज्दै मनोरञ्जन लिन सकिन्छ । यो रोमाञ्चक भुलभुलैया हो, जसमा चारैतिर ऐना र विशेष प्रकारका लाइटहरू जडान गरिएका हुन्छन्, जसले गर्दा आगन्तुकलाई भित्ता र बाटो छुट्याउन गाह्रो हुन्छ र भ्रम पैदा गर्छ । मनोरञ्जनका लागि यो विश्वभर निकै लोकप्रिय छ ।

अर्का सञ्चालक सुदीप काफ्लेले नयाँ प्रविधि र फरक अवधारणामा आधारित मनोरञ्जन सेवा थप गर्दै बुटवललाई मनोरञ्जन तथा पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्थानीयवासीसँगै बुटवल आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुरु गरिएको यस परियोजनाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने उनको भनाइ छ ।

बुटवलमा पछिल्लो समय पर्यटन तथा मनोरञ्जनसँग सम्बन्धित नयाँ व्यवसाय थपिँदै गएका बेला सञ्चालनमा आएको १८ डी प्लस मुभी थिएटर र मिरर मेजले यहाँको मनोरञ्जन क्षेत्रलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ । यसले बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका आगन्तुकलाई मनोरञ्जनको नयाँ विकल्प उपलब्ध गराउनुका साथै बुटवलको पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ ।