बुटवल । नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वतन्त्रताको धज्जी उडाएको बताए ।
बुधबार नेकपा एमाले रुपन्देही जिल्ला कमिटीद्वारा आयोजित स्ववियु निवार्चनमा अनेरास्ववियुको तर्फबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्रीको अभिव्यक्तिले जनादेशको अपमान गरेको बताए । उनले नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त नहुने समेत बताए । आफूलाई नेपालको संसदले होइन, दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको भन्दै उनले राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार प्रचण्डले गुमाएको बताए ।
प्रधानमन्त्री दाहालले काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितमसिंह दिल्ली गएको अभिव्यक्ति दिएका थिए । कार्यक्रममा नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज यम पाण्डे, अनेरास्वववियुका स्थायी कमिटी सदस्य लेखनाथ खनाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा रुपन्देही जिल्लाबाट स्वतन्त्र विद्यार्थी युनियन स्ववियुमा निर्वाचित १०० जना सभापति तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।