काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ ।
थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले जानकारी दिए ।
दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन ।
सीता दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत थिइन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिनेछ । अन्तिम संस्कार भने दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने सचिवालयले जनाएको छ ।