सेनामैनाको बनकट्टामा भोलिदेखि श्रीमद्भागवत धनधान्याचल ज्ञान यज्ञ हुने

मेचीकाली संवाददाता

२३ मंसिर २०८०, शनिबार
178 shares

बुटवल । सेनामैना नगरपालिका–१ बनकट्टामा भोलि (आइतबार)देखि श्रीमद्भागवत धनधान्याचल ज्ञानयज्ञ तथा श्रृङ्गारिक महा–आरती महोत्ससव–२०८० हुने भएको छ । ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणका लागि सहयोग संकलन गर्ने उद्देश्यले ज्ञान यज्ञ तथा श्रृङ्गारिक महा–आरती महोत्ससव आयोजना गर्न गरिएको हो । यज्ञ सम्पादन मूल समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सबै तयारी पुरा भएको जानकारी गराएको छ ।

बनकट्टास्थित नवदुर्गा मन्दिर परिसरमा आयोजना हुने ज्ञानयज्ञ तथा श्रृङ्गारिक महा–आरती महोत्ससवको लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँणले उद्घाटन गर्ने कार्यक्रम रहेको यज्ञ सम्पादन मूल समितिका सचिव पुष्कर भुसालले जानकारी दिए । प्रसिद्ध कथावाचक पण्डित चन्द्रकान्त काफ्ले र उपवाचक पर्शुराम पाण्डेयको मुखारबिन्दबाट कथा प्रवचन हुने उनले बताए । यही मंसिर २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने यज्ञबाट १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको सचिव भुसालले बताए ।

पछिल्लो समय युवाको बढ्दो विदेश पलायनसँगै घरमा वृद्धा बुबाआमा मात्र रहने अवस्था आएकोले ज्येष्ठ नागरिक मिलन केन्द्रको आवश्यकता महसुस गरी निमार्ण गर्ने योजना बनाएको अध्यक्ष रामप्रसाद आचार्यले बताए । मिलन केन्द्र निमार्ण भएमा वृद्धा बुबाआमाले आफ्ना सुख–दुःख साटासाट गर्ने साझा थलो बन्ने उनले बताए । भजन कीर्तन, योगा, ध्यान र दिवा खाजाकोसमेत व्यवस्था हुने गरी सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना बनाएको उनले बताए । साथै उनले यज्ञमा सहभागी भई सामाजिक सेवामा जोडिएर आफूसक्दो सहयोग गर्न सबैलाई आग्रह गरे । यज्ञमा दैनिक ३ हजारबढी सहभागि गराउने आयोजकको लक्ष्य रहेको छ ।

ज्ञानयज्ञ तथा श्रृङ्गारिक महा–आरती महोत्ससव सम्पन्न गर्न १३३ सदस्यीय मूल समिति, ३८ वटा विभिन्न उपसमिति गठन गरिएको छ । कार्यक्रममा नवदुर्गा मन्दिरव्यवस्थापन समितिका अध्यक्ष मणिरत्न पौडेल, वडा नम्बर १ का अध्यक्ष भुवनबहादुर क्षेत्री, एकता टोल विकास संस्थाका अध्यक्ष रणबहादुर बस्नेत, जनप्रतिनिधि प्रेमलाल भुसाल, युवा समाजसेवी शुसिल भण्डारीलगायतको उपस्थिति रहेको थियो ।