बुटवल बहुमुखी क्याम्पसले मनायो स्वर्ण महोत्सव

‘युवालाई सिप र संस्कारसँग जोड्ने शिक्षा आवश्यक’

मेचीकाली संवाददाता

४ पुष २०८०, बुधबार
448 shares

बुटवल । पश्चिम क्षेत्रकै जेठो शैक्षिक संस्था बुटवल बहुमुखी क्याम्पसले सप्ताहव्यापी कार्यक्रम गरी स्वर्णमहोत्सव मनाएको छ । बुधबार आयोजित मूल समारोहको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.शिवलाल भुसालले उद्घाटन गरे । सोही अवसरमा बोल्दै डा. भुसालले कुनै पनि देशको सबैखाले प्रगतिमा शिक्षाको पहिलो एवं महत्वपूर्ण स्थान हुने भएकाले शिक्षा क्षेत्र सुधारका लागि सरकारले आवश्यक नीति बनाएर काम गर्नुपर्ने बताए । त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गरी त्रिविको शैक्षिक गुणस्तर कायम गर्न र दक्ष जनशक्ति उत्पादनमा थप जोड दिने उनको भनाइ छ । आफ्नो कार्यकाल सफल र उदाहरणीय बनाउन सक्दो प्रयास गर्ने डा. भुसालले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शिक्षाको अर्थ जेनतेन सर्टिफिकेट हासिल गरेर जीविका चलाउनु मात्र नभएको बताउँदै युवा विद्यार्थीहरुलाई सिप र रोजगारसँग जोड्नुपर्ने बताए । यहाँका विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरुले विश्वका जुनसुैकै विश्वविद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा उनले जोड दिए । पछिल्लो समय युवा विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढेको बताउँदै यसलाई रोक्न स्वदेशमै शिक्षासँगै रोजगारको ग्यारेन्टी हुनुपर्ने उनले बताए ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमसख खेलराज पाण्डेले बुटवललाई शैक्षिक क्षेत्रको हवको रूपमा विकास गर्न नगरसरकार प्रयासरत रहेको बताए । युवा विद्यार्थीहरु देशमा बस्ने अवस्था नरहेको बताउँदै त्रिभुवन विश्वविद्यालयले युवाहरुको पलायन रोक्न नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए । ‘हातमा सर्टिफिकेट छ, सिप छैन । युवाहरुलाई सिप र संस्कारसँग जोड्ने शिक्षा आवश्यक छ ।’ उनले भने । कक्षा १२ पछि क्याम्पसमा विद्यार्थी नभएर बन्द हुने अवस्था आउन नदिन सबै पक्षले सहकार्य गरी काम गर्नुपर्ने उनले बताए । बुटवलको शैक्षिक धरोहरको रूपमा रहेको बुटवल बहुमुखी क्याम्पसको समग्र भौतिक, शैक्षिक गुणस्तर वृद्धि गर्न नगर सरकार क्याम्पस प्रशासनसँग हातेमालो गर्न तयार रहेको बताए ।

बुटवल क्याम्पसका क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेले शिक्षाको गुणस्तर वृद्धि गर्न आवश्यक काम गरिरहेको बताए । पछिल्लो समय नेपालका विश्वविद्यालयहरुमा विद्यार्थीको संख्या घट्नु र विदेशिने विद्यार्थी बढ्नु चिन्ताको विषय भएको बताउँदै यसलाई रोक्न सबै पक्षले आआफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले विश्वविद्यालयले बेरोजगार विद्यार्थी धेरै उत्पादन गरेर विश्वकीर्तिमान बनाउनुभन्दा गुणस्तर वृद्धि गरी विश्वबजारमा आफूले हासिल गरेको ज्ञान, सिप र क्षमता बेचेर गरिखाने विद्यार्थी उत्पादनमा जोड दिनुपर्ने सुझाव दिए ।

त्यस्तै, पूर्वस्ववियु सभापति बाबुराम पन्थी, स्ववियु सभापति दुर्गबहादुर एम्सी, अनेरास्ववियु रुपन्देही जिल्ला अध्यक्ष भरत अर्याल, नेविसंघ बुटवल क्याम्पस सभापति दिनेश पौडेल, अखिल क्रान्तिकारीका नेता विष्णु ज्ञावाली, अखिल छैठौँका जिल्ला अध्यक्ष सागर बेलबासेलगायतले बोल्दै विश्वविद्यालयहरुमा विद्यार्थी नहुँदा बन्द हुने अवस्था आएको बताए । विश्वविद्यालयले अहिलेको शिक्षा नीति परिवर्तन गर्नुपर्ने र सिपमूलक शिक्षालाई प्राथमीकता दिनुपर्ने उनीहरुले बताए ।

कार्यक्रममा स्वर्णमहोत्सवको अवसरमा प्रकाशित स्मारिका विमोचन गरिएको थियो । साथै स्वर्णमहोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय भलिबल प्रतियोगिता, फुटबल प्रतियोगिता, जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता, कुर्ची दौड, खोखो खेल, टेबुलटेनिसलगायतका विभिन्न खेलकुद प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।