सामूहिक साकोसद्वारा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१६ माघ २०८०, मंगलवार
223 shares

बुटवल । सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा वित्तीय साक्षरता तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाको फर्साटिकर सेवा केन्द्रअन्तर्गतका सदस्य तथा सो सेवा केन्द्रअन्तर्गत पायक पर्ने मुख्य कार्यालयअन्तर्गतका सदस्य तथा सदस्य बन्न इच्छुकहरुलाई लक्षित गरी उक्त कार्यक्रम भएको हो ।

कार्यक्रम संस्थाका अध्यक्ष सुरेन्द्रकुमार बर्माको अध्यक्षता तथा साना किसान कृषि केन्द्रिय सहकारी संघ लि. का सञ्चालक रामप्रसाद रेग्मी र राष्ट्रिय सहकारी बैंकका लुम्बिनी प्रदेश प्रमुख नारायण बेलवासेको सहजीकरणमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै अतिथि रेग्मीले सहकारीको माध्यमवाट समाज रुपान्तरणको अभियान पूरा हुने बताए । यसैगरी संस्थाका अध्यक्ष वर्माले संस्थाले सदस्यहरुलाई निरन्तर रुपमा वित्तीय साक्षरता लगायत सुझाव सल्लाह लिने गरी यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा संस्थाको संक्षिप्त परिचय संस्थाका प्रमुख कार्यकारी अधिकृतले दिएका थिए भने सहजकर्ता राष्ट्रिय सहकारी बैंक लि. का लुम्बिनी प्रदेश प्रमुख बेलवासेले वित्तीय साक्षरताको सहजीकरण गरेका थिए । कार्यक्रममा २२५ जना सदस्यको उपस्थिति रहेको थियो ।

सेवा केन्द्र सञ्चालन उपसमिति सदस्य राजेन्द्र कँडेलले सेवा केन्द्र सञ्चालनका लागि संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सेवा केन्द्र सञ्चालन उपसमिति संयोजक शिव पाठकको मा स्वागत, संस्थाका सचिव मिनप्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । फर्साटिकर सेवा केन्द्रको सोमबार नै संस्थाका अध्यक्ष वर्माले उद्घाटन गरेका थिए ।

रुपन्देहीको पहिलो बचत तथा ऋणको कारोबार गर्ने गरी दर्ता भएको यो सहकारी संस्थामा जम्मा १० हजार ८ सय सदस्य रहेको र कुल सम्पत्ति ३ अर्ब ३० करोड रहेको सूचना अधिकारी ईश्वरी मरासिनीले जानकारी दिए ।