सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा सरसफाई

मेचीकाली संवाददाता

२० माघ २०८०, शनिबार
356 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौ स्थापना दिवसको अवसरमा शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समाजमा सरसफाईबारे चेतना जगाउँदै रचनात्मक रूपमा स्थापना दिवस मनाउने उद्देश्य सहित सिमामार्ग सुन्दरचोकदेखि देवीनगर चौपारीसम्म सरसफाई गरिएको हो ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले समग्र सरसफाईमा उत्तम तरिकाहरुबारे नागरिकमा चेतनाको विकास आवश्यक रहेको बताए । अध्यक्ष क्षेत्रीले स्वास्थ्य र सरसफाईबारे न्यूनतम ज्ञान विकास गर्दै सरसफाईबारे रणनीति नैं बदल्नुपर्ने बताए ।

कार्यक्रममा सहकारीका अध्यक्ष लोकराज शर्माले वातावरण र सरसफाई सम्बन्धी चेतना वृद्धि गर्ने गरी विगतका वर्षहरुमा जस्तै रचनात्मक रूपमा स्थापना दिवस मनाइएको बताए । अध्यक्ष शर्माले स्थापनाको छोटो समयमा सहकारी जनताको रोजाइमा पर्न सफल समेत भएको दावी गरे ।

सम्बन्ध सहकारी बुटवल उपमहानगरपालिकामा दर्ता भएको पहिलो बहुउद्देश्यीय सहकारी हो । सहकारीमा ७०० भन्दा बढी शेयर सदस्यहरु भइसकेका छन् । सहकारी अध्यक्ष लोकराज शर्माको धन्यवाद ज्ञापन तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।