गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू

मेचीकाली संवाददाता

२१ माघ २०८०, आईतवार
216 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भएको छ । २४ गतेसम्म चल्ने ‘स्पोट्स मिट’ को आइतबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिका नगर खेलकूद विकास समितिका संयोजक बोनिन पियाले उद्घाटन गरे । पियाले विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख भीम बहादुर चौधरीलाई खेलकूद सामग्री हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै संयोजक पियाले नगरले विद्यालय तहबाट नैं खेलकूदको विकास गर्न आवश्यक रहेको बताए । पियाले पढाइँको अभिवृद्धि गर्दै खेलकुदको विकास गर्न पनि अपरिहार्य रहेको बताए । खेलकुदमार्फत नागरिकको शारीरिक र मानसिक स्वास्थ्य, सामूहिक भावनाको विकास र अनुशासित तथा मर्यादित जीवनयापनमा सघाउ पुग्ने संयोजक पियाको भनाइ छ ।

कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले नगरले अघि बढाएका खेलकूद प्रतियोगिताहरुमा प्रावि तहका विद्यार्थीहरु पनि सहभागी हुने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । प्राचार्य अधिकारीले खेलकूदको विकास र खेलाडी उत्पादन विद्यालय तहबाटै भएको बताउदै नगरले विद्यालय तहको खेलकूदमा विशेष ध्यान आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापा, उपाध्यक्ष झविन्द्र अधिकारी, विद्यालय सञ्चालक समितिका सदस्य जीवन अधिकारी, सल्लाहकार राजेन्द्र ढकाल लगायतले बोलेका थिए । चार दिन चल्ने खेल सप्ताहमा शत प्रतिशत विद्यार्थी सहभागी हुने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख भीम बहादुर चौधरीले जानकारी दिए । खेल सप्ताहमा भलिबल, एथलेटिक्स, टफी बाइट, म्यूजिकल चेयर, क्रिकेट, कबडडी, ज्याबलिङ थ्रो, रेस, रिले रेस, इन आउट, बेलुन ब्रास्ट, तेकन्दो लगायतका खेलमा विद्यार्थीहरुबीच प्रतिष्पर्धा हुने प्राचार्य अधिकारीले जानकारी दिए ।

कार्यक्रममा मेयर कपमा सहभागी हुने विद्यार्थीलाई पियाले जर्सी समेत प्रदान गरेका थिए । उद्घाटन सत्रमा विद्यार्थीहरुले विभिन्न गीत र नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । स्थापनाको छोटो समयमै सफलताको शिखर चुम्न सफल विद्यालयमा १ हजार ९७२ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयका अध्यक्ष रणबहादुर थापाको अध्यक्षता, प्राचार्य भुवन अधिकारीको स्वागत तथा मावि शिक्षक नवराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।