पार्वती आचार्य
कपिलवस्तु । अर्थमन्त्री डा.प्रकास शरण महतले नेपालको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । मंगलबार कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशनको उद्घाटन गर्दै अर्थमन्त्री महतले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताएका हुन् ।
बाहिर हल्ला चलेजस्तो देशको अर्थतन्त्र धराशायी नभएको बताउँदै केहिले देशको अर्थतन्त्र श्रीलङ्काको जस्तो गम्भिर संकटमा परेको भनि हल्ला चलाएपनि वास्तवमा त्यस्तो नरहेको स्पष्ट पारे । नेपालको मुल्य वृद्धि लक्ष्य भन्दा तल झरेको भन्दै देश श्रीलङ्का हुने कुनै आधार नभएको उनले दावि गरे । नकारात्मक कुराले मात्र विकास नहुने भन्दै देश परिवर्तन गर्न सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिए । देशको विकास गर्न राजनीति भन्दामाथि उठेर सकारात्मक सोचका साथ काम गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले सरकारले ठुलो लगानी गरेका विकास निर्माणका कामलाई चलायमान बनाउनु पर्ने बताए । कतिपय विकास निर्माण अलपत्र हुँदा लगानी खेरा गएको हुँदा जनताको आवश्यकता अनुसार कामहरु हुनपर्नेमा जोड दिए । लुम्बिनीमा आउने पर्यटकलाई कपिलवस्तु सम्म ल्याइ प्राचीन कपिलवस्तुको विकास गर्नुपर्ने सांसद पन्थीले बताए । नेपाल कृषि प्रधान देश भएकाले कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा उनको भनाई थियो ।
उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले पछिल्लो समय उद्योगी व्यवसायी धरापमा परिरहेको भन्दै तिनै तहका सरकारले सहयोग गर्नुपर्नेमा बताए । उद्योग व्यवसाय धरासायी हुँदा आत्महत्या गर्नुपर्ने स्थिति आएको बताउँदै अर्थतन्त्रलाई व्यवस्थापन गर्न सरकार संवेदनसिल हुनुपर्नेमा जोग दिए ।
यसैगरी बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले कपिलवस्तु उद्योग वाणिज्य संघ देशको विकासमा टेवा पुर्याउने संस्था भएकाले यो सङ्ग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए । निजि क्षेत्रको प्रवद्र्धधन नहुदा सम्म देशको विकास हुन नसक्ने भएकाले सरकारले यसको संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष शुरकृष्ण वैद्य, निवर्तमान अध्यक्ष उमनाथ पौडेल, विभिन्न सरोकारवाला निकाय, राजनीति दलका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज उद्योगि व्यवासायी लगायतले आ आफ्नो धारणा राख्दै जिल्लाका व्यवसायीहरुलाई माथि उकास्न देश बनाउन सबैलाग्नु पर्नेमा जोड दिएका थिए ।
संघका अध्यक्ष दोलकराम घिमिरेको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष छविलाल रेश्मी मगरको स्वागत तथा महासचिव मनोज पौडेलले सञ्चालनमा सम्पन्न साधारण सभामा कपिलवस्तु उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु, सल्लाहकार लगायतको उपस्थिती रहेको थियो ।