पार्वती आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिका–९ जिनुव स्थित खोजिपुर सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाको डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले उट्घाटन गरे । सोही अबसरमा बोल्दै उनले वनलाई व्यवस्थापन गर्न बनाईएका निति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
वन संरक्षण र व्यवस्थापनको बिषयमा जोड दिए । ‘वनलाई राम्रो बनाउन अवधि पुगेका रुखलाई काट्ने, नयाँ बिरुवा उमार्ने र हुर्काउने कार्य नै वैज्ञानिक वन व्यवस्थापन हो’ अधिकृत सुवेदीको भने । वन नविकरणीय स्रोत भएको बताउँदै उनले भने, ‘वन जंगलमा भएका खोलानाला सुक्न दिनु हुदैंन् । खोला खहरेको व्यवस्थापन गर्नुपर्छ ।’ गरिवी निवारण र सामाजिक बिकास निर्माणका कार्यहरु गर्दा स्थानिय सरकारसंग समन्वय र सहकार्य गरेर कार्यक्रमहरु संचालन गर्न आग्रह समेत गरे ।
कार्यक्रममा वनका अध्यक्ष दिपककुमार थापाले वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक वर्ष ०८०/०८१ को लागि अनुमानित आम्दानी रु २ करोड ६१ लाख ५२ हजार रुपैयाको बजेट प्रस्तुत गरेका थिए । सो क्रममा उनले वन व्यवस्थापनलाई आगामी दिनमा योजनाबद्ध रुपमा कार्यान्वयन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष थापाले वनको दिगो व्यवस्थापनलाई आफुले जोड दिएको बताए ।
यस्तै कोषाध्यक्ष सरस्वती गैरे पौडेलले ०७९/०८० को १ करोड ८३ लाख ८८ हजार ३७ रुपैंया ९६ पैसा खर्च भएको विवरण प्रस्तुत गरिन् । उनले आम्दानीतर्फ १ करोड ८३ लाख ८८ हजार ३७ रुपैया ९६ पैसाको आयव्यय प्रस्तुत गरेकी थिईन् । यसैगरी बार्षिक प्रगति प्रतिवेदन सचिव लक्ष्मी पौडेल र वार्षिक लेखा प्रतिवेदन लेखा संयोजक उमानन्द अधिकारीले प्रस्तुत गरेका थिए ।
कार्यक्रमका वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वन र वडाले सहकार्य गरेर कार्यहरु अगाडी बढाउनु पर्नेमा जोड दिए । उनले वनको बजेट देखेर काम गर्ने व्यक्तीहरु वडा तर्फ भन्दा वन तर्फ आकर्षित देखिएको हुँदा त्यस्तो नगरी बिकास तर्फ अगाडी बढ्न आग्रह गर्दै सामुदायिक बनले गर्ने गतिविधिहरु पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए ।
यस्तै बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता जिल्ला महासंघका अध्यक्ष शेषकान्त बेल्वासेले वनको संरक्षण गर्न आम उपभोक्ताहरु सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्ने वक्ताहरुले वन संरक्षणको विकल्प नरहेको बताउँदै वनको उपभोग राम्रोसंग गर्न सके वनबाटै समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका थिए ।
कार्यक्रममा जनप्रतिनिधी, टोल बिकास संस्थाका पदाधिकारी, छिमेकी सामुदायिक बनका अध्यक्षहरु लगायको सहभागिता रहेको थियो । साधारण सभा अध्यक्ष थापाको अध्यक्षता, उपाध्यक्ष दुर्गा थापाको स्वागत तथा सचिव लक्ष्मी पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
सो अवसरमा शुद्धोधन मावि जिनुवामा अध्ययनरत कक्षा ४ देखि कक्षा १२ सम्मका २० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो । यस खोजिपुर सामुदायिक वन उपभोक्ता समूहको २ सय ७६ दशमलव ७१ हेक्टर क्षेत्रफल रहेको छ । जसमा ४ सय ९६ उपभोक्ताहरु लाभान्वित छन् ।