बुटवल । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा १३ फेब्रुअरी अर्थात् फागुन १ गते मंगलबार बुटवलमा भव्य म्युजिकल कन्सर्ट हुने भएको छ । युवायुवतीहरुलाई लक्षित गरेर कण्डमको प्रयोग तथा यसको फाइदाहरुको विषयमा जानकारी दिने उद्देश्यका साथ बुटवलको ट्राफिक चोकका भव्य कार्यक्रम हुन लागेको हो ।
आस्था समूह बुटवल र स्वास्थ्य निर्देशनालय राप्ती दाङको आयोजना तथा एड्स हेल्थकेयर फाउन्डेसनको सहयोगमा ट्राफिक चोकमा दिउँसो ३ बजेदेखि कार्यक्रम हुन लागेको हो । कार्यक्रममा नेपालका चर्चित कलकार कालीप्रसाद बाँस्कोटाको विशेष प्रस्तुति रहने छ । सार्वजनिक स्थानमा अयोाजना गरिएको कार्यक्रममा निःशुल्क रुपमा प्रवेशको व्यवस्था, निःशुल्क र गोप्य रुपमा एचआइभी परीक्षण तथा निःशुल्क कण्डम वितरणको कार्यक्रमसमेत आयोजना गरिएको एएचएफ नेपाल लुम्बिनी प्रादेशिक अस्पताल कार्यक्रम संयोजक धर्मराज भट्टाईले जानकारी दिए ।
सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी म्युजिकल कन्सर्टको विषयमा जानकारी दिँदै उनले उक्त कार्यक्रममा कालीप्रसाद बास्कोटासहित अन्य स्थानीय सत्यसाई कला केन्द्रको सांस्कृतिक कार्यक्रमसहित सचेतनामूलक नाटकसमेत प्रस्तुत गरिने जानकारी दिए ।
उक्त कार्यक्रममा साहरी कदम नेपालको संयोजकत्वमा लैंगिक तथा योनिक अल्पसंख्यक समुदायको फेस परेड कार्यक्रमसमेत आयोजना गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य जमुना ढकाल, स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोद गिरी, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाललगायतको सहभागिता रहने छ ।
एएचएफ नेपालका राधेश्याम श्रेष्ठका अनुसार यो संस्था ४५ वटा देशका फैलिएको छ । नेपालको सात वटा प्रदेशमा एचआइभी र एडसको क्षेत्रमा काम गर्दै आएको छ । एएचएफ नेपालमा सन् २०११ बाट कण्डम दिवस मनाउन थालेको छ । आस्था समूह बुटवलका अध्यक्ष केशव पुन मगरले युवाहरुलाई लक्षित गरेर विश्व कण्डम दिवसको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।