बुटवलमा आजदेखि प्रथम अन्तर विद्यालय लोकनृत्य

मेचीकाली संवाददाता

२९ माघ २०८०, सोमबार
210 shares

बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६५ औं स्थापना दिवसको अवसर पारेर आजदेखि दुई दिने प्रथम अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता गर्ने भएको छ ।

संस्कृति संरक्षण गर्दै सामाजिक एकता, मनोरञ्जन र उत्सवको रूपमा प्रतियोगिता गर्न लागेको हो । नगरको यो पहिलो सांस्कृतिक प्रतिस्पर्धाको कार्यक्रम हो । प्रतियोगितामा बुटवलभित्रका ४४ सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

प्रतियोगिता बुटवल उपमहानगरपालिकाको परिसरमै हुनेछ । प्रतियोगितामा प्रथम हुने विद्यालयले १ लाख, द्वितीय हुनेले ६० हजार, तृतीय हुनेले ३० हजार नगद र प्रमाणपत्र पाउनेछन् । ‘लोकनृत्य समाजको सांस्कृतिक समृद्धि जीवित प्रमाण हो,’ मेयर पाण्डेयले भने, ‘जसले संस्कृतिको संरक्षण, सामाजिक एकता, पहिचानको अभिव्यक्ति, मनोरञ्जन र उत्सवको भूमिका खेल्दछन ।’ लोकनृत्य प्रतियोगितामा ५ हजार बढी अवलोकन गर्ने कार्यक्रम संयोजक नारायण पुनले जानकारी दिए ।