सुशासन र जवाफदेहीतासहितको सेवा प्रवाहमा सैनामैना नगरपालिका

मेचीकाली संवाददाता

२९ माघ २०८०, सोमबार
156 shares

सैनामैना । सैनामैना नगरपालिकालाई यसक्षेत्रको समुन्नत र सुशासनमैत्री नगरका रुपमा विकास गर्नेगरी काम भइरहेको छ । समृद्ध सैनामैना आत्मनिर्भर नगरको लक्ष्य लिएर सेवाप्रवाहलाई पारदर्शी, व्यस्थित र सुशासनमैत्री गराइएको छ । नगरको आवधिक र दीर्घकालीन योजना तय गरेर उपयुक्त कार्यक्रममार्फत साकार पार्नेगरी काम भइरहेका छन् ।

समृद्ध सैनामैनाको लक्ष्यमै केन्द्रित छौंः फणेन्द्र शर्मा, प्रमुख
नगरको पञ्चवर्षीय गुरुयोजनालाई कार्यान्वयन गर्ने मात्रै होइन नयाँ योजनाहरुसमेत आवश्यकताका आधारमा तय गरेर समग्र नगरको बहुआयामिक विकासमा केन्द्रित भएर यहाँका जनप्रतिनिधि, कर्मचारी लागेका छौं । पूर्वजनप्रतिनिधिको समेत निरन्तर सुझाव र सहकार्य छ । नगरमा राजनीतिक तथा प्रशासनिक सम्बन्ध सुमधुर छ र यहाँको समृद्धिका लागि सबै पक्षका बिचमा सहकार्य जारी छ । सबैको लक्ष्य र उद्देश्य सैनामैनाको समृद्धि र खुसीयाली रहेको प्रमुख फणेन्द्र शर्माको भनाइ छ ।

नगरका सबै सेवाप्रवाहलाई नगरबासीले अपनत्व गर्नेगरी सुशासनमैत्री, पारदर्शी, जवाफदेही बनाएको बताउँदै प्रमुख शर्माले पूर्वजनप्रतिनिधि, नागरिक अगुवा, राजनीतिक दलहरुसँग पनि उत्तिकै समन्वय गरिएको बताउँछन् । ‘नगरपालिकाले तय गरेका प्राथमिकतामा योजनाको सफल कार्यान्वयन गर्दा नै समृद्धिको लक्ष्य हासिल हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ,’प्रमुख शर्माले बताए ।

सुरुदेखिका महत्वपूर्ण र गौरवका योजना सफल हुँदैछन्ः बिना राना
सैनामैनाको समग्र हितलाई ध्यानमा राखेर तय गरिएका योजनाहरु सफल भइरहेका छन् । अहिले तिनै योजनाहरु पूरा हुने चरणमा छन् । सुरुदेखिका महत्वपूर्ण र नगर गौरवका योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने, नयाँ योजनाको छनोट अघि टोलस्तरमा अन्तत्र्रिmया र छलफल गर्नेदेखि तीनै तहका सरकारका बिचमा समन्वय गरेको नगर उपप्रमुख बिना रानाले बताइन् ।

नगरको समग्र विकासमा सबै पक्षबिच सहकार्य गरेर काम भइरहेको बताउँदै उपप्रमुख रानाले समग्र योजनाहरुको वस्तुगत अनुगमन गरेर मात्रै पास गर्ने, प्राविधिकहरुलाई भवनसंहिताको पालना गर्न लगाएर मात्रै नक्सा पास गराउनेदेखि वडा तहसम्मका सबै कामलाई विशेष प्राथमिकतामा राखेर काम गरिएको बताइन् । उनले न्यायिक समितिका कामलाई थप प्रभावकारी बनाउन आवश्यकताअनुसार तालिम र प्रशिक्षणसमेत सञ्चालन गरिएको बताइन् ।

सुशासन र जवाफदेहीता पालना गरेका छौंः जनक थापा, प्रमुख प्रशासकीय अधिकृत
कर्मचारीहरुमा ड्रेसकोड, बिहान कार्यालय समयअगावै नगरपालिका र वडा परिसरमा राष्ट्रिय र नगरगान अनिवार्यमा सहभागी हुने, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको प्रबन्ध गरेर हरेक सेवाग्राहीबाट आउने गुनासाको तत्कालै सम्बोधन गर्ने काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए ।
नगरपालिका, वडा कार्यालय र मातहतका इकाइहरुमार्फत हुने सेवा प्रवाहलाई व्यवस्थित गरिएको र नगरबासीको समग्र हितमा केन्द्रित रहेको प्रमुख प्रशासकीय अधिकृत थापाको भनाइ छ ।

व्यवस्थित नगर अस्पताल निर्माण
सैनामैना नगरपालिकामा बनिरहेको अस्पताल भवन एक पालिका, एक अस्पतालको योजनामध्येको सबैभन्दा प्रभावकारी योजना हो । २०७८ साउन १० गतेदेखि बनाउन सुरु गरिएको अस्पतालको संरचना निर्माणको काम पूरा भएको छ भने अस्पतालजन्य उपकरण जडानको काम धमाधम भइरहेको छ । सुरुआत गर्दा १५ बेडको भनिएपनि यसको संरचना ५० बेड सहज रुपमा चलाउन मिल्नेगरी तयार भएको छ ।

संघीय सरकारको सशर्त अनुदानमा बनिरहेको १५ शैयाको अस्पताललाई रि–डिजाइन गरेर ५० शैयाको चलाउन सक्नेगरी संरचना निर्माण भइरहेको छ । यसका लागि नगरपालिकाले सम्बन्धित स्वास्थ्य मन्त्रालयबाट यसअघि नै स्वीकृति लिइसकेको थियो । अस्पताल भवनमा इमर्जेन्सी, बहिरङ्ग विभाग, अन्तरङ्ग विभाग, प्रसूति इकाइ रहनेछन् । भवनको माथिल्लो तलामा प्रशासनिक कार्यालय, लाइब्रेरी, सभा हललगायत आधारभूत अस्पतालमा हुने सबै सुविधा रहने छन् । अस्पताल भवनमा एउटा भ¥याङ, एउटा लिफ्ट र एउटा ¥याम्प निर्माण भएका छन् । चार तलासम्ममै बिरामी राखेर स्ट्रेचर लैजान मिल्ने गरी ¥याम्प निर्माण भइसकेको छ भने समग्र भवनलाई अपाङ्गमैत्री बनाइएको छ । अस्पतालमा पोस्टमार्टम गृह पनि बन्ने छ ।

सैनामैना चक्रपथ
सैनामैनामा बनिरहेको चक्रपथ मुलुककै लामो हो । यसको निर्माणकार्य अन्तिम चरणम पुगेको छ । सैनामैनाका १ देखि ११ सम्म सबै वडाका साथै पूर्व–पश्चिम राजमार्ग, लुम्बिनी जोड्ने सडक र सहायक मार्गहरु जोड्ने चक्रपथ निर्माण गर्न थालिएको थियो । संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानअन्तर्गत ५० करोड बढी लागतमा बन्न लागेको यो चक्रपथले नगरका सबै वडा तथा बस्तिहरुलाई जोड्नुका साथै लुम्बिनी र बुद्धकालीन ऐतिहासिक तथा धार्मिक क्षेत्रहरुलाई समेटेको छ । २०७४ साल जेठ १ गते ठेक्का सम्झौता भई २०७८ मंसिर मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि कोरोना महामारीका कारण ढिलाई भएको थियो । अहिले पुनः बजेटको प्रबन्ध भएसँगै बाँकी रहेको चक्रपथ विस्तारको काम पूरा हुने भएको छ ।

एकीकृत फोहोरमैला प्रशोधन केन्द्र
सैनामैनामा निर्माण भइरहेको एकीकृत फोहोरमैला प्रशोधन केन्द्र यहाँको अर्को महत्पूर्ण परियोजना हो । रुपन्देहीका अन्य स्थानीय तहहरूमा समेत फोहोरमैला व्यवस्थापन लथालिङ्ग भइरहेका बेला सैनामैनाले सिङ्गो रुपन्देहीसहित कपिलवस्तु र नवलपरासीको समेत फोहोर प्रशोधन गर्नेगरी एकीकृत फोहोरमैला प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । राष्ट्रिय प्राथमिकताको योजना रहेको प्रशोधन केन्द्रका लागि चार वर्ष अघि नै संघीय सरकारले सवा १० करोड विशेष अनुदान उपलब्ध गराएर काम सुरु भएको हो । अहिले पनि निर्माणको काम चलिरहेको छ ।

सैनामैना रिफ्रेस सेन्टर
२०७७ मंसिर १२ गते रुपन्देहीको सैनमैनाको पिपलडाँडामा ३ करोड ५५ लाख ७९ हजारको ठेक्का सम्झौता भएर सैनामैना रिफ्रेस सेन्टर निर्माण सुरु भएको थियो । करिब एक बिघा क्षेत्रफलमा निर्माण गरिएको सेन्टरको पहिलो चरणको भौतिक काम सकिएपनि दोस्रो चरणको काम भने अहिले रोकिएको छ । सहकार्य गरेका संघ र प्रदेशले बजेटको प्रबन्ध नगरी नगरलाई अधुरो हस्तान्तरण नगर्न आग्रह गरिएको छ । दोस्रो चरणमा फोहोर व्यवस्थापन, पार्क निर्माण, चार्जिङ स्टेशन बनाउने योजना छ । रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ स्थल, सिटिङ एरिया, पाथ वे, रोड एरिया, कार वासिङ, चार्जिङ स्टेशन र ड्राइभर रुमलगायतका संरचना रहने योजनामा छ ।

पर्यटन प्रवद्र्धन र बोलबमको पुनर्निर्माण
सैनामैनाले गरेको अर्को महत्वपूर्ण काम हो–बोलबम मन्दिरको पुनर्निर्माण । करिब २३ कठ्ठा जग्गामा निर्माण भएको मन्दिरको मुल मन्दिर प्यागोडा शैलीमा छ । जसअन्तर्गत प्यागोडा शैलीको मूल मन्दिरमा कलात्मक काठ, ढुङ्गा, दक्षी इट्टाको प्रयोग भएको छ भने दुई तामाको छानासहित मन्दिर बनाइएको छ । बोलबमलाई पशुपतिनाथ पछिको अर्को महत्वपूर्ण धार्मिक आस्थाको केन्द्र मानिन्छ । मन्दिरमा रुद्धाभिषेक गर्न सतल, चारैतिर पञ्चायन मन्दिर (प्यागोडा शैली), पानीको फोहोरा, अग्नी शाला, पर्खाल, सटर भवन, कलात्मक गेट, चन्द्रामा आकारको १०८ शिवलिङ्ग रहेको कुण्ड, प्रशासनिक भवन, पाँच सय केजीको घण्ट, हनुमान थान, ५७ फिटको त्रिशुल डमुरु, आश्रम, पाठशालालगायतका संरचना निर्माण भएका र भइरहेका छन् । लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित गुरुयोजना बनाएर १४ करोडभन्दा धेरै लागतमा निर्माणकार्य भइरहेको छ । यसका साथै सैनामैनामै रहेको बोलबम पार्कसम्म पुग्नेगरी व्यवस्थित अस्फाल्ट सडक निर्माण गरिएको छ ।

सैनामैनामा रहेका धार्मिक आस्थाका केन्द्रहरु बोलबम, मलमला, रानीकुवा, थारु समुदायका डिउहार, बौद्ध गुम्बा, चर्च देखि विभिन्न धार्मिक समुदायको सम्मिलन हुनेगरी धार्मिक, सांस्कृतिक सद्भावलाई प्राथमिकतामा राखिएको छ ।
सैनामैनाले शिक्षा, स्वास्थ्य, हरियाली प्रवद्र्धन र पार्कको व्यवस्थापनका काम धमाधम भइरहेको छ । यहाँका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरलाई जिल्लामै अब्बल मानिन्छ । हरेक वडा कार्यालयहरुबाट प्रवाह हुने सेवालाई व्यवस्थित, सुशासनमैत्री र पारदर्शी बनाइएको छ । सैनामैनाको समग्र विकासका लागि यहाँका जनप्रतिनिधि, कर्मचारी, पूर्वजनप्रतिनिधि, नागरिक समाज, आमसञ्चारकर्मी, राजनीतिक दलहरुलगायत सबैको साझा पहल जारी छ ।