नमस्ते एकेडेमीमा पुस्तक विमोचन तथा साहित्यिक महोत्सव सम्पन्न

मेचीकाली संवाददाता

३ फाल्गुन २०८०, बिहीबार
206 shares

बुटवल । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा फागुन २ गते विविध साँस्कृतिक कार्यक्रम सहित नयाँ विद्यार्थीहरुको अक्षरारम्भ, पुस्तक विमोचन तथा साहित्यिक महोत्सव सम्पन्न भएको छ ।

ब्रिटिस एजुकेसन ग्रुपका स्कुल हेड अरुण कँडेलको सभापतित्व, वरिष्ठ बाल साहित्यकार प्राध्यापक डाक्टर कपिलदेव लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुस्तक विमोचनका साथमा विद्यार्थीहरुले विविध नृत्य, गायन, कविता वाचन , स्टोरी टेलिङ, प्यानल डिस्कसनका साथमा साहित्यिक व्यक्तित्वहरूले नमस्तेका साहित्य अनुरागी विद्यार्थीहरुसित छलफल गरेको विद्यालयका प्राचार्य जिम्मे शेर्पाले जानकारी दिए ।

‘साहित्य समाजको ऐना हो । बालबालिका यसका बिम्ब हुन् ।यसले विद्यार्थीलाई सृजनशील बनाउँछ । जीवन बुझाइ सफलताको बाटो पहिल्याउछ । यसै कुरालाई मनन गरी यो कार्यक्रम आयोजना गरिएको हो ।’ प्राचार्य शेर्पाले भने ।

साहित्यिक महोत्सव कार्यक्रमको पहिलो सत्रमा साहित्यक परिचर्चा भएको थियो। साहित्यिक परिचर्चामा वरिष्ठ बाल साहित्यकार कपिलदेव लामिछाने , शिक्षक सुरज घिमिरे र विद्यार्थी बृहत पोखरेलले भाग लिएका थिए भने यसको सहजीकरण विद्यार्थी अनुष्का रावतले गरेकी थिइन ।

परिचर्चामा बोल्दै बरिस्ठ साहित्यकार लामिछानेले नमस्ते एकेडेमी र यसले ससाना बालबालिकामा साहित्य रस जगाउने उदेश्यले आयोजना गरेको कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्दै आफूले लेखेका एक दर्जन बढी पुस्तक विद्यालयलाई उपहारस्वरूप प्रदान गरे । बाल्यकाल बाट नै यस किसिमको माहोल बनाउन सके विद्यार्थी कलामा पोख्त हुने उनले बताए ।

कार्यक्रममा मूलत पुस्तक लेखनका आयाम, विद्यार्थीको साहित्य लेखन कला र अनुभूति विषयमा विद्यार्थी र साहित्यकार विचमा छलफल भएको थियो । साहित्यिक महोत्सवमा नेपाली साहित्यको आयाम, बाल साहित्य, साहित्यमा बालबालिकाको भूमिका ,लेखक कसरी बन्ने, आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली, कविता वाचन कला शीर्षकमा साहित्यकार र विद्यार्थी बिचमा परिचर्चा भएको सह प्राचार्य लिलामणि पाण्डेले जानकारी जानकारी दिए ।

अहिलेका बालबालिका साहित्यप्रति विशेष अभिरुचि राख्ने उनले बताए । उनीहरुका श्रृजनाको प्रदर्शनी पनि यो महोत्सवको विशेष आकर्षण रहेको उनले बताए । पठन संस्कृतिप्रति पनि नमस्तेका बालबालिका उत्साहित रहेको उनले बताए । ससाना विद्यार्थीले आफूले लेखेका साहित्यिक सृजना समेत उपस्थित अभिभावक र साहित्यनुरागीका बिचमा वाचन तथा प्रस्तुत गरेका थिए।

कार्यक्रमको दोस्रो सत्रमा नमस्ते एकेडेमीकी कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रेयसी पन्थीले सृजना गरेको पुस्तक क्जबउभ थयगच षिभ को विमोचन गरिएको थियो । उक्त पुस्तकको समीक्षा र लेखिकासँगको परिसम्बाद विद्यार्थी कक्षा १२ का सायस रुपाखेतीले गरेका थिए ।

कार्यक्रममा श्रेयसी पन्थीका माता पिता बिन्दु पन्थी र भरत पन्थीले १३ वर्षकी छोरीले गरेको यो उपलब्धि सबैका लागि अनुकरणीय रहेको र नमस्ते एकेडेमी बालबालिकाको पहिलो घर भएको उल्लेख गरे । आजबाट बाल लेखिका बनेकी छोरी र विद्यालयको केमिस्ट्री मिलेको विचार व्यक्त गरे । महोत्सवमा विद्यार्थीका रुचि र स्तर अनुसारका पुस्तक प्रदर्शनी समेत भएको संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।

नेपाली संस्कृति, कला, साहित्य, भेषभुषा र परम्पराको जगेर्ना गर्ने उद्देश्य सहित आयोजना भएको कार्यक्रमले विद्यार्थीको गीत, सङ्गीत, कला र लेखनमा निरन्तर रुपमा लाग्नुको परिणाम रहेको स्कुल हेड अरुण कँडेलले बताए। प्रिस्कुल देखि १२ कक्षा सम्मका विद्यार्थी, अभिभावक, अक्षरारम्भका लागि पाल्नु भएका ससाना विद्यार्थी एवम अभिभावक, पत्रकार र साहित्यनुरागी महानुभावको उपस्थिति रहेको महोत्सवमा विद्यार्थीले कला, गला, अनुभव, अनुभूति, कल्पना, नृत्य मार्फत आफ्ना साहित्यिक कर्महरु प्रस्फुटन गरेका थिए।