बाणगंगामा कफी वारिस्ता तालिम सुरु

मेचीकाली संवाददाता

३ फाल्गुन २०८०, बिहीबार
118 shares

पार्वती आचार्य

कपिलवस्तु, फागुन ३ । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा १५ दिने कफि वारिस्ता तालिम बिहीबारबाट सुरु भएको छ । बाणगंगा नगरपालिका वडा नं.४ सिद्विपुरमा आयोजित तालिमको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले कफी वारिस्ता तालिमलाई रोजगार मुलक बनाउन आवश्यक रहेको बताए ।

नगरप्रमुख अर्यालले तालिम लिएर रोजगारी र ब्यवसाय सँग जोडिन सहभागिलाई आग्रह गर्दै पालिकाबाट अहिले सम्म धेरै तालिमको आयोजना भए पनि कतिपय तालिमका लागि छुटाइएको बजेट खर्च भए अनुसारको उपलब्धी हासिल नभएको बताए । सिपमुलक तालिम लिएपछि उत्पादनमा लाग्नुपर्नेमा जोड उनले दिएका थिए । ‘खालि बस्दै आएका र रोजगारको खोजीमा बस्दै आएका नगरका युवायुवतीहरुलाई सिपमुलक तालिमले केहि गरौं भन्ने उर्जा मिल्ने छ ।’ उनले भने । कफी वारिस्ता तालिमलाई रोजगारमुखी बनाउन सकेमा पालिकाबाट आगामी दिनमा थप बजेट बिनियोजन गर्ने नगरप्रमुख अर्यालले प्रतिवद्धता समेत जनाए ।

यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले दैनिकि सँग जोडिएका बिषयबस्तुलाई सिप सगै रोजगारमुलक बनाउनुपर्ने बताए । नाम कफिको मात्रै भएपनि धेरै कुराहरूको सीप सिक्न सकिने छ । तालिममा सिकेका कुराहरुलाई व्यवसायमा ल्याउन सके नगरले यस्ता सीप विकास सम्बन्धि कार्यक्रमहरूलाई आउँदा बर्षहरुमा पनि प्राथमिकतामा राख्ने बताए ।

घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लक्ष्मण प्रसाद बेल्वासेले १५ दिने तालिमा हेर्दा सामान्य देखिएता पनि यसले सबैलाई सिप विकास गर्न सहयोग पुराउने बताए । उनले आफू वित्तीय संस्थामा पनि आबद्ध रहेकोले तालिम सकेपछि उद्योग सञ्चालनको लागि सहुलियत कर्जा समेत उपलब्ध गराउने बताए ।
त्यसैगरी बाणगंगा नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख शुशिला पन्तले तालिम राम्रोसंग सिक्ने हो भने रोजगारीको साथसाथै ब्यवसायलाई जोडिन सकिने भएको हुँदा सिकेको सिपलाई व्यवहारमा ल्याउन आग्रह गरिन् ।

तालिम प्रशिक्षक सन्जय घिमिरेले तालिम रोजगारी उन्मुख भएकाले रोजगारीका लागि कुनै समस्या नहुने भन्दै वारिस्ताको धेरै खाचो भएको बताए । तालिम बिज्ञ घिमिरेले राम्रो कफी खानका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्दै बजारको माग अनुसारको तालिमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

यस्तै होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले सिपमुलक तालिम लिइसके पछि केहि न केहि व्यवसाय गरेर आर्थिक रुपमा सक्षम हुनेछन् भन्ने उद्देश्यले नगरका युवा युवतीहरुलाई उद्यमतर्फ उन्मुख गराउनका लागि कफी वारिस्ता तालिमको आयोजना गरिएको बताए । १५ दिन सम्म चल्ने तालिममा बाणगंगा नगरपालिकाका ११ वटै वडा बाट १५ जनाको सहभागिता रहेको छ ।