सैनामैना । रुपन्देहीका अब्बल सामुदायिक विद्यालयमध्येको सैनामैना पर्रोहा परमेश्वर नमुना माविले स्थापनाको स्वर्ण अवसर पारेर विविध कार्यक्रम गरेको छ । सैनामैना नगरपालिका वडा नं. १ रानिबगियामा रहेको उत्कृष्ट सामुदायिक विद्यालयले स्वर्णजयन्तीको अवसर पारेर विविध रचनात्मक कार्यक्रम गरेको छ ।
स्वर्ण महोत्सवलाई सभ्य र भव्य रूपमा मनाउने गरी विद्यालयले साताव्यापी कार्यक्रमबारे पत्रकार भेटघाट गरी जानकारी गराएको छ । विद्यालयमै पत्रकार भेटघाटको आयोजना गरी स्वर्ण महोत्वसका कार्यक्रमका बारेमा प्राचार्य नेत्रलाल पुरी र व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले जानकारी गराएका थिए ।
यो विद्यालय वि.सं.२०३१ सालको बसन्त पञ्चमीको अवसरमा स्थापना भएको थियो । सामान्य ढुंगामाटो र काठबाट निर्माण सुरु भएर वर्षौंसम्म पनि उस्तै अवस्थामा रहेको विद्यालयका भौतिक संरचनामा अहिले भने कायापलट भएको छ । एकसमय विद्यार्थी संख्या न्यून भएर अर्को नजिकैको विद्यालया मर्ज गर्नेसम्मको तयारी भइरहेको विद्यालयमा अहिले नगरमै धेरै विद्यार्थीले अध्ययन गर्ने उपयुक्त शैक्षिक गन्तव्यका रुपमा विकास भएको छ ।
स्थापनाको अवसर पारेर विद्यालयले फागुन महिनाभरि नै विविध कार्यक्रमको तयारी गरेको छ । यो महिनालाई जन्म महिनाका रूपमा मनाउने गरी सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको प्रधानाध्यापक पुरीको भनाइ छ ।
प्रधानाध्यापक पुरीका अनुसार फागुन ३ गतेदेखि नै विविध रचनात्मक कार्यक्रम सुरु भएका छन् । विद्यार्थीको उमेर समूहअनुसारका विविध कार्यक्रम गरिएको, रचनात्मक अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीमा एकप्रकारको उत्साह जगाउने काम गरिएको प्राचार्य पुरीले दाबी गरे ।
फागुन १२, १३ गते मूल समारोह गरिने र फागुन १४ गते स्वर्णजयन्तिको मूल समारोहको तयारी भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बस्यालले जानकारी दिए । विद्यालयले स्वर्ण महोत्सवको तयारी तथा स्वर्ण महोत्सवलाई सफल पार्न स्थानीय राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था र आमसञ्चारकर्मीहरुलाई सहयोगको आग्रहसमेत गरेको छ ।
फागुन ३ गते बृहत् रक्तदान कार्यक्रम, फागुन ३ देखि ७ गतेसम्म विविध आन्तरिक कार्यक्रमहरु सम्पन्न गरेको विद्यालयले फागुन ८ गते स्पोर्ट मिट–२०८० गरेको छ । विद्यार्थीहरुलाई कक्षागत रुपमा विभिन्न विधामा प्रतिस्पर्धा गराइएको सहायक प्राचार्य यमप्रसाद चालिसेले बताए ।
फागुन ८ गते देखि ११ गतेसम्म विद्यार्थीका विविध प्रतियोगितात्मक कार्यक्रमहरू गर्ने फागुन १० गते जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता र जिल्लास्तरीय खुल्ला कविता लेखन तथा वाचन प्रतियोगिता गर्ने विद्यालयले जनाएको छ ।
यस्तै फागुन १२ गते आन्तरिक नृत्य प्रतियोगिता, फूड फेष्टिबल समुद्घाटन, शैक्षिक चन्दादातालाई सम्मान कार्यक्रम, छात्रवृत्ति तथा पुरस्कार वितरण फागुन १३ गते फूड फेष्टिबल, विशेष चन्दा दाता सम्मान कार्यक्रम गर्ने र फागुन १४ गते मूल समारोह गरिनेछ । मूल समारोहकै अवसरमा विभिन्न व्यक्तित्वहरुलाई पनि सम्मान गरिने छ भने विद्यालयका नयाँ भवनको समेत उद्घाटन गर्ने कार्यक्रम छ ।
स्वर्ण महोत्सवको अवसर पारेर विद्यालय परिसरमा निर्माण गरिएको स्वर्ण स्तम्भ समुद्घाटन, नवनिर्मित भवन समुद्घाटन, विद्यालयको वार्षिक प्रनिवेदनवाचन, स्वर्ण स्मारिका समुद्घाटन, पुरस्कार तथा सम्मान कार्यक्रम, उत्कृष्ट विद्यार्थी प्रतिभा प्रस्तुतीकरण, शुभकामना मन्तव्य र बेलुका दीपावली गरिने व्यवस्थापन समितिका अध्यक्ष बस्यालले बताए । अध्यक्ष बस्यालले सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय धेरै विद्यार्थीको रोजाइ भएको दाबी गरे ।
बुटवलदेखि पश्मिको उत्कृष्ट शैशिक हवको रुपमा रहेको यस सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयमा हाल २५०८ विद्यार्थी संख्या रहेका छन् । नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुने उक्त विद्यालयले कक्षा ११ र १२ मा विज्ञान विषय सुरु गरेकै वर्ष विज्ञानमा १०० प्रतिशत नतिजा निकाल्नसमेत सफल भएको थियो । यो विद्यालयलाई नगरपालिकाले कैयौंपटक उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत समेत गरेको छ ।