काठमाडौंमा पनि सञ्चालनमा आयो ‘क्लोथ बैंक’

मेचीकाली संवाददाता

१८ फाल्गुन २०८०, शुक्रबार
258 shares

बुटवल । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैंक काठमाडौंमा पनि सञ्चालनमा आएको छ । शुक्रबार टोखा नगरपालिकामा महानायक राजेश हमाल, नगरप्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी लगायतले क्लोथ बैंकको उद्घाटन गरे ।

क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएका घरमा यत्तिकै रहिरहेका पुराना लत्ता कपडा संकलन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने जनाएको छ । क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सीले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन हुने बताए । देशभरका स्थानीय सरकार तथा विभिन्न संघसंस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान गरे । ‘मानव सेवाको लागि पुरानो कपडालाई पुनः प्रयोग’ भन्ने मुल नाराका साथ नितान्त सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकतम सेवा लिन समेत उनले आग्रह गरे । बुटवलका विभिन्न स्थानमा कपडा संकलनका लागि बक्स राखिने र संकलित कपडालाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने अध्यक्ष जि.सीले बताए ।

कार्यक्रममा महानायक राजेश हमालले कपडाबिहिनलाई कपडा दिने र पुराना कपडा मुक्त गर्ने पुन्य कार्यमा जोडिन सबैलाई आग्रह गरे । समाज परिर्वतनका लागि युवा समुहरुले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफु संलग्न हुन पाउँदा खुसी लागेको बताए ।
नगरप्रमुख प्रकाश अधिकारीले कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै क्लोथ बैंकमा आफूलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सबैलाई आग्रह गरे । क्लोथ बैंक सञ्चालनमा टोखा नगरपालिका काठमाडौंमै पहिलो बनेकोमा खुसी व्यक्त गरे ।

केही दिन अघि मात्र रुपन्देहीको बुटवल उपमहानगरपालिकाबाट यो अभियानको औपचारिक सुभारम्भ भएको थियो । नगरका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन रि–साइकल गरेर आवश्यकताका आधारमा वितरण गरिनेछ ।

क्लोथ बैंकका अध्यक्ष जिसीले आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना बनाएको बताए । उनका अनुसार अहिलेसम्म १५४ वटा स्थानीय तह यो अभियानमा जोडिएका छन् ।