नयाँगाउँमा आजदेखि सांस्कृतिक रमाइलो मेला

मेचीकाली संवाददाता

३ जेष्ठ २०८१, बिहीबार
520 shares

बुटवल । बुटवल–१२ नयाँगाउँमा आज (बिहीबार) देखि प्रथम सांस्कृतिक रमाइलो मेला–२०८१ सुरु हुने भएको छ । फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले नयाँगाउँस्थित भार्सेली टोलमा मेला आयोजना गरेको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष गोविन्द भुसालले मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

सांस्कृतिक तथा पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको उनले बताए । मेलामा सांस्कृतिक कार्यक्रम, डान्स आइडल सँगै बाल उद्यान, टोटल र व्यापारीक स्टलहरु रहनेछन् । मेला दिउँसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने अध्यक्ष भुसालले जानकारी गराए ।

मेलामा स्थानीय कलाकारसँगै राष्ट्रियरूपमा ख्याति कमाएका बद्री पंगेनी, ज्योति मगर, प्रिती आले, प्रकाश दुतराज, धुर्मस–सुन्तली, पल शाहलगायतले प्रस्तुति दिनेछन् । डान्स आइडलमा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गर्ने अध्यक्ष भुसालले जानकारी दिए ।

मेलामा प्रवेशका लागि सय रुपैयाँ टिकट तोकिएको छ भने विद्यार्थीलाई सहुलियतमा ७० रुपैयाँ कायम गरिएको छ । यस्तै ज्येष्ठ नागरिक र ५ वर्ष मुनिका बालबालिकाका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष भुसालले बताए ।

उनका अनुसार मेलामा व्यावसायिक, कृषि, बाल उद्यान, होटल तथा रेष्टुराँ गरी ३० बढी स्टल रहनेछन् । १६ दिनसम्म चल्ने मेला १९ गते समापन हुनेछ । मेला अवधिभरमा करिब ५० हजार बढी दर्शकले अपलोकन गर्ने अनुमान गरिएको छ । मेलालाई उपकार आमा समूह नयाँगाउँ, संगम टोल विकास संस्थालगायतले सहयोग गरेका छन् भने सहआयोजकमा बुटवल उपमहानगरपालिका १२ र १३ वडा कार्यलय रहेका छन् ।