देउराली माविमा सरस्वतीको मूर्ति अनावरण

मेचीकाली संवाददाता

२२ कार्तिक २०८३, शनिबार
1 shares

विपिन ढकाल

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–६, उपल्लो कोरेङ्गस्थित देउराली माध्यमिक विद्यालयमा नवनिर्मित सरस्वती मन्दिरमा सरस्वती माताको मूर्ति प्राणप्रतिष्ठा तथा अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा पण्डित कृष्ण गौतमको धार्मिक विधिअनुसार तथा कर्ताशिक्षक रमेश सुवेदीको सहभागितामा वैदिक मन्त्रोच्चारण र पूजाआजासहित मूर्ति प्राणप्रतिष्ठा गरिएको हो । कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पूर्णबहादुर थापाले मूर्ति प्राणप्रतिष्ठा तथा अनावरण गरेका थिए ।

कार्यक्रमलाई थप भक्तिमय र उल्लासमय बनाउन भजनकीर्तनसहित सरस्वती माताको मूर्तिलाई विद्यालय परिसर परिक्रमा गराई नवनिर्मित मन्दिरमा विधिपूर्वक स्थापना तथा प्राणप्रतिष्ठा गरिएको थियो । विद्यालयका प्रधानाध्यापक कविराज ढकालसहित शिक्षकशिक्षिका, स्थानीयहरुको विशेष पहल, सक्रियता र नेतृत्वमा मन्दिर निर्माण तथा मूर्ति प्राणप्रतिष्ठा गरिएको हो । सरस्वतीको मूर्ति तथा मन्दिरको गजुर प्राध्यापक नारायणप्रसाद ढकालले सौजन्य गरेका थिए भने अन्य स्थानीयहरुले समेत आर्थिक सहयोग गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक ढकालले विद्या, ज्ञान, बुद्धि र सिर्जनाकी देवी सरस्वतीको मन्दिर स्थापना तथा मूर्ति प्राणप्रतिष्ठाले विद्यालयको शैक्षिक वातावरणलाई थप आध्यात्मिक, सकारात्मक र प्रेरणादायी बनाउने विश्वास व्यक्त गरे । मन्दिर निर्माण तथा मूर्ति प्राणप्रतिष्ठाका लागि सहयोग पु¥याउने सबैलाई उनले धन्यवाद व्यक्त गरे । यसले विद्यार्थीहरूमा शिक्षा, संस्कार, नैतिकता, अनुशासन र आध्यात्मिक चेतनाको विकासमा समेत सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष थापाले विद्यालय केवल औपचारिक शिक्षा प्रदान गर्ने स्थल मात्र नभई संस्कार, संस्कृति, सभ्यता र सामाजिक एकताको केन्द्र पनि भएको बताए ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, चन्दादाता, अक्षयकोषदाता, स्थानीयबासी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।