‘प्रथम बुटवल लोकतारा’ भोलिदेखि सुरु हुने

मेचीकाली संवाददाता

१३ चैत्र २०८१, बिहीबार
82 shares

बुटवल । लोक संस्कृतिको संरक्षण तथा नव प्रतिभाको खोजि गर्ने उद्देश्यले बुटवलमा भोलि (शुक्रबार)देखि ‘प्रथम बुटवल लोकतारा’ हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको प्रवर्धनमा शुक्रबार र शनिबार दुई दिन लोक गायन प्रतियोगिता हुन लागेको हो ।

बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष विजय सोपकोटाले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । यो प्रतियोगिता अवसर नपाएकाहरुलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट ठाउँ हुने उनले बताए । प्रतियोगिहरुले लोक विधामा गीत प्रस्तुत गर्नुपर्ने अध्यक्ष सापकोटोले बताए ।

अनुसार शुक्रबार अडिसन हुनेछ भने अडिसनबाट छानिएकाहरुलाई शनिबार अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ ।प्रतिस्पर्धीका लागि उमेरको हदबन्दी तोकिएको छैन, तर सहभागि हुनका लागि बुटवल उपमहानगरपालिका भित्र बसोबास गरेको हुनुपर्ने छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार, उपविजेताले १५ हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना हुनेले ५ हजार रुपैयाँसहित प्रमाणपत्र तथा मायाको चिनो पाउने कार्यक्रम संयोजक रेशम खनालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ३० जना भन्दा बढी प्रतियोगिहरु सहभागि हुनेछन् ।

बुटवल–११ देविनगरस्थित थ्री पोइन्ट गार्डेन रिर्साटमा आयोजना हुने प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका सचिव विधान कार्कीले जानकारी दिए । कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रीता थापामगर, केन्द्रिय सचिव दिपक गरौजा लगायतको सहभागिता रहने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब साढे ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।