

बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले अपाङ्ग आश्रममा खाद्यान्न सहयोग गरेको छ । संगठनको ३५औं स्थापना दिवसका अवसरमा बुटवल–११ प्रगतिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा आइतबार एक कार्यक्रका बीच खाद्यान्न सामग्री हस्तान्तरण गरीएको हो ।
कार्यक्रममा निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश सहइन्चार्ज नारायण प्रसाद भण्डारीले संगठनले स्थापना दिवसका अवसरमा देशव्यापी रुपमा बिभिन्न कार्यक्रम आयोजना गरेको बताए । संगठनले वर्षेनी स्थापना दिवसमा रचनात्मक काम गर्दै आएकोमा धन्यवाद व्यक्त गरे ।

यस्तै निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष कमल पराजुलीले आश्रममा रहेका अपांगता भएका व्यक्तिहरुलाई जिबिकोपार्जनमा थोरै भए पनि सहयोग होस् भन्ने उद्धेश्यले स्थापना दिवसका अवसरमा खाद्यान्न सहयोग गरिएको बताए । आगामी दिनमा पनि संगठनले यस्तै रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।
आश्रमका अध्यक्ष डोलबहादुर रामदामले अपांगता भएका व्यक्तिहरुलाई सम्झेर आश्रमलाई सहयोग प्रदान गरेकोमा खुसी व्यक्त गरे । फरक क्षमता भएका व्यक्तीहरुलाई आश्रय दिने उद्देश्यले आश्रम स्थापना भएको बताउँदै उनले यहाँ रहेकाहरुलाई क्षमताअनुसार सिपमुलक तालिम प्रदान गर्दै आएको बताए । संगठन स्थापनाको उत्सव आश्रममा मनाएर नेपाल निजामति कर्मचारी संगठनले अनुकरणीय काम गरेको भन्दै उनले धन्यवाद दिए । बिभिन्न संघसंस्था र व्यक्तीहरुको सहयोगले नै आश्रम सञ्चालन भइरहेको अध्यक्ष रामदामले बताए । २०६८ सालमा स्थापना भएको आश्रममा अहिले ३७ जना व्यक्तीहरु आश्रीत रहेको उनले बताए ।

कार्यक्रममा निजामती कर्मचारी संगठन नीति अनुसन्धान आयोगका सचिव काशीराम आचार्य, केन्द्रिय सदस्यद्वय प्रेमप्रसाद खनाल, रमेश पाण्डे, पेशागत महासंघ लुम्बिनी प्रदेश सचिव कृष्णप्रसाद पन्थी, पेशागत महासंघ आयोग सदस्य हरिप्रसाद पन्थीलगायत संगठनका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । संगठनका उपाध्यक्ष जीवन पौडेलको स्वागत तथा सहसचिव प्रेमबहादुर केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।