गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते

मेचीकाली संवाददाता

१० कार्तिक २०८३, सोमबार
1 shares

बुटवल, कार्तिक ९ । गुल्मीमा स्कारपियो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । कालिगण्डकी गाउँपालिका–२ अर्बेनीमा भएको दुर्घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उद्धार गरी अस्पतालतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेहरुमा गाडी चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिपकुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल स्याङ्जाको वालिङमा बस्ने अन्दाजी ५०–५५ वर्षीय लोकनाथ पाण्डे, कालीगण्डकी–१ सिरकोट घर भई बुटवल बस्ने सीता पाण्डे, कालीगण्डकी–१ सिरकोट घर भई देवदह खैरेनी बस्ने कुलानन्द पाण्डे र वालिङ–१० की निता बगाले रहेका छन् ।

यस्तै, दुर्घटनामा घाइते हुनेहरुमा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, वालिङ–१० बस्ने बालकृष्ण सुवेदी र कालीगण्डकी–१ सिरकोट घर भई हाल स्याङ्जाको वालिङमा बस्ने अन्दाजी ५०–५५ वर्षीया गोमता पाण्डे रहेका छन् । घाइते छविलाल र बालकृष्णको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचार भइरहेको छ । यस्तै घाइते गोमताको पाल्पाको तानसेनस्थित मिसन अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्याङ्जाको वालिङबाट हिलेसिद्ध दर्शन गर्न आएका दर्शनार्थीहरु सवार गण्डकी प्रदेश बि.एए ०२२० नम्बरको गाडी कालिगण्डकी गाउँपालिका–२ अर्बेनीको दभौखानीमा सोमबार दिउँसो करिब ४ बजे दुर्घटना भएको कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए । दुर्घटनाग्रस्त गाडीमा ९ जना सवार रहेका थिए । उक्त गाडी सडकबाट करिब २५० मिटर तल खसेको छ ।

दुर्घटना भएको जानकारी पाएपछि प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको कमाण्डमा ६ जना, इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा ५ जना र थप उद्दारको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक विरेन्द्रवीर विश्वकर्माको कमाण्डमा १० जनाको टोली खटिएको थियो । दुर्घटनास्थल प्रहरी चौकी पूर्तिघाटबाट ६ किलोमिटर दक्षिणमा पर्छ ।