उपभोक्ता हित संरक्षण मञ्चद्वारा सहज विद्युत आपूर्तिको माग गर्दै डेलिकेशन

मेचीकाली संवाददाता

७ जेष्ठ २०८२, मंगलवार
95 shares

बुटवल । नियमित रूपमा विद्युत् सेवामा समस्या देखिएपछि उपभोक्ता हित संरक्षण मञ्च, बुटवलले नेपाल विद्युत प्रधिकरणमा मंगलबार डेलिगेशन गएको छ । बिना सूचना र जानकारी अनियमित विद्युत जाँदा उद्योग, व्यवसाय र नागरिकले चरम समस्या भोग्न बाध्य भएको भन्दै सेवा प्रदायक निकाय प्राधिकरणलाई जिम्मेवार बन्न आग्रह गर्दै विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय र बुटवल वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको हो ।

उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले प्रादेशिक कार्यालयका प्रमुख सम्भु कुशियत यादवलाई ६ बुँदे ज्ञापनपत्र बुझाउँदै अनियमित विद्युतले जनजीवन अस्तव्यस्त भएको बताउदै बिना जानकारी लाइन कटौती नगर्न आग्रह गरे । ‘विद्युतीय सेवा उपलब्ध उपभोग गर्न पाउने व्यवस्था विपरीत आगामी दिनमा सार्वजनिक जानकारी सूचना विना विद्युत वितरण सेवा अवरुद्ध नहुने गरी नियमित आपूर्तिको सहजता होस’ जिसीले भने । जसले गर्दा कल कारखाना र कार्यालयका दैनिक कामकाजमा सेवाग्राहीले हैरानी भोग्न बाध्य भएको अध्यक्ष जिसीको भनाइ छ ।

ज्ञापनपत्र बुझदै कार्यालय प्रमुख यादवले कुनै बेला कार्यालयलाई पनि जानकारी नभई ‘फोर्स सटेज’ ले विद्युत जाने समस्या हुने बताउँदै अन्य बेला जानकारी नैं दिएर लाइन काटने गरिएको बताए । ‘कुनै काम हुदा सूचना गरेर लाइन काटिने गरिएको छ’ यादवले भने, ‘अकस्मात हुने समस्या र भारतबाट आइपर्ने समस्याले लाइन जान सूचित गर्न हामीले पनि सकिएको छैन । बाँकी बेला सूचना दिन्छ । अहिले विद्युत त्यस्तै कटौती भएको छैन ।’

कार्यालय गुणस्तरीय विद्युत उपभोक्तालाई दिन सधै प्रतिबद्ध रहेको स्पष्ट पारे । अध्यक्ष जिसीले विद्युतको सहज आपूर्तिको माग राखेर नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख कपिल पाण्डेलाई पनि ज्ञापनपत्र बुझाए । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठक, मानवअधिकार तथा शान्ति समाज, खुद्रा किराना व्यवसायी, होटल तथा रेष्टुरेन्ट व्यवसायी लगायत क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।