धुर्कोट वाग्लाको ‘फूलबारी’ पूर्ण सरसफाईयुक्त टोल घोषणा

मेचीकाली संवाददाता

२१ असार २०८२, शनिबार
74 shares

बुटवल । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाको फूलबारी टोललाई पूर्ण सरसफाईयुक्त टोल घोषणा गरिएको छ । सरसफाईका बिभिन्न सूचकहरू पूरा गरेपछि शनिबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सीता गिरी, वास इकाई संयोजक छबि विश्वकर्मा लगायतले पूर्ण सरसफाईयुक्त टोल घोषणाको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष पोखरेलले मानिसको जिवनमा सरसफाई अतिआवश्यक रहेको बताए । घरमा शौचालय, शुद्ध खानेपानी, शारिरिक सरसफाई, घरआँगन सरसफाई तथा फोहोर फाल्ने ठाउँ लगायतमा ध्यान दिन सकेमा विभिन्न रोगबाट बच्न सकिने बताए । गाउँपालिकामा रहेका सबै टोलहरुलाई पूर्ण सरसफाईयुक्त टोल घोषणा गर्ने अभियान सुरु भइसकेकोले अब निरन्तर हुने उनले बताए ।

कार्यक्रममा उपाध्यक्ष गिरीले गाउँलाई नमूनाको रुपमा विकास गर्न टोलवासीलाई अनुरोध गरिन् । यहाँको सरसफाई व्यवस्थापन हेर्न बाहिरका अन्य टोलबाट आउने गरी काम गर्न सुझाव दिदै उनले त्यसका लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् । यस्तै धुर्कोट गाउँपालिका–७ का वडाध्यक्ष लिलाबहादुर खनालले वडाका अन्य टोलहरूमा पनि यो अभियान विस्तार गरि वडास्तरीय पूर्ण सरसफाई घोषणा गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रममा वडा सचिव सुबास पन्थी, वाग्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक भेषराज खनाल, पूर्व वडा अध्यक्ष हिमप्रसाद पन्थी, वडा सदस्य टोपलाल पराजुली, वाग्ला स्वास्थ्य चौकीका अध्यक्ष जीवन पौडेल, महिला स्वास्थ्य स्वयंसेविका, टोलका सदस्यहरू, शिक्षक, कर्मचारी लगायतको सहभागिता रहेको टोलका सदस्य गोकर्ण पौडेलले जानकारी दिए ।

सोही अवसरमा टोलका सदस्यहरूले पूर्ण सरसफाईयुक्त जीवनशैली अपनाउने र सरसफाईका विभिन्न क्रियाकलापहरूमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।