

बुटवल, असार २१ । पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले जेहेन्दार विद्यार्थीलाई छावृत्ति वितरण गरेको छ । यातायात व्यवसायी र मजदुरका छोरा छोरीलाई छात्रावृत्ति दिनका लागि २०६३ सालमा छात्रावृत्ति अक्षयकोष स्थापना गरिएको थियो । सोही अक्षयकोषको रकमबाट जम्मा भएको व्याजबाट समितिले २२ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको हो । समितिले शनिबार कार्यालयमा कार्यक्रम आयोजना गरी रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखांची स्याङजा, कपिलवस्तु, नवलपरासीका विभिन्न स्कुलमा अध्ययनरत २२ जना विद्यार्थीलाई नगद १० हजारका दरले छात्रा वृद्वि प्रदान गरेको हो । आर्थिक रुपले कमजोर अवस्था भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलका अध्यक्ष टिकाराम गौतमले बताए । छात्रवृत्तिको सहयोग रकम थोरै भए पनि विद्यार्थीलाई पढ्नका लागि केही सहयोग मिल्ने र अभिभावक, विद्यार्थीमा हौसला बढाउने भएकाले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि छात्रावृत्ति प्रदान गरिएको अध्यक्ष गौतमले बताए ।
उक्त कार्यक्रममा बोल्दै नेपाली कांगे्रस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जमुना ढकालले शिक्षा, स्वास्थ्य राज्यले निःशुल्क दिनुपर्ने बताइन । उनले संविधानले शिक्षा, स्वास्थ्यलाई मौलिकहकमा राखेकाले शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने र यो विषयमा लुम्बिनी प्रदेश सरकारमा कुरा उठाउने बताइने ।
नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख महेन्द्र खड्काले हरेक सामाजिक संघसंस्थाहरु समाजप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले यातायात क्षेत्रमा आफ्ना समस्याहरु थुप्रै हुंदा हुदै पनि विद्यार्थीका लागि अक्षयकोष स्थापना गरेर छात्रावृत्ति प्रदान गर्ने कार्यको प्रशंसा गर्दै यसबाट थुप्रै विद्यार्थीले लाभ लिने बताए । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष तथा छात्रावृत्ति अक्षयकोष संरक्षक अर्जुन रानाभाटले आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि यातायात व्यवसायी र मजदुरका छोराछोरी पढनबाट बन्चित हुन नपरोस भनेर २०६३ सालमा छात्रावृत्ति अक्षयकोष स्थापना गरिएको बताए ।
कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठ, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, रैनादेवी छहरा कालिका माध्यमिक विद्यालय पाल्पाका अध्यक्ष जुद्वबहादुर कार्की, समिति प्रधानकार्यालय बुटवलका अध्यक्ष टिकाराम गौतम। महासचिव खिमबहादुर थापा लगायतले बोेलेका थिए ।