बुटवल हस्पिटलमा लेजर प्रविधि सुरू

मेचीकाली संवाददाता

५ श्रावण २०८२, आईतवार
73 shares

बुटवल । बुटवल हस्पिटल प्रालिमा लेजर प्रविधिबाट पायल्स रोगको उपचार सुरु भएको छ । प्रविधि भित्रिएसँगै बिना चिरफार बिरामीको उपचार हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.कृष्णप्रसाद खनालले बताए । लेजरमार्फत विशेषत पायल्स, फिस्टुला, फिसर, पाइलोनाइडल, साइनस र खुट्टाको भेरिकोज भेनको बिना चिरफार उपचार गर्न सकिन्छ । लेजर मेसिनबाट बिरामीको उपचार गर्द अस्पतालको बसाइ कम हुने, न्यूनतम रक्तश्राव र दुखाइसमेत कम हुने उपचारमा सम्लग्न विशेषज्ञ डा.बिर्खराज जोशीले बताए ।

उपचारपश्चात २/३ दिनमै सामान्य अवस्थामा आउने भएकोले यो प्रविधिमा बिरामीहरुको माग समेत बढिरहेको छ । आजभोलि खानपान र जीवनशैलीका कारण पायल्स र भेरिकोज भेनका बिरामीहरु पनि बढ्दै गएका छन् । उनीहरुका लागि लेजर प्रविधिमार्फतको उपचारले सहजता हुने भएकोले लेजर मेशिनबाट उपचार सुरु गरेको अस्पतालका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताए । उनले समयको मागसँगै बुटवल हस्पिटल प्रालिले पनि आफ्ना उपकरणहरु परिस्कृत गर्दै लगेको जानकारी दिए । सूचना प्रविधिकोआजको युगमा बिरामीहरुको विभिन्न अंगमा गरिने शल्यक्रियालाई लेजर प्रविधिबाट गर्ने गरिएको छ ।

यो प्रविधि विशेष प्रकारको प्रकाश प्रविधि हो । यो प्रकाशले बिरामीको असर परेको अंगमा विकिरणको माध्यमद्वारा शल्यक्रिया गर्ने गरिन्छ । हाल आँखा, नाक, कान, घाँटी, मृगौलाको पत्थरी, ब्रेन ट्युमर, पाठेघरलगायतका अंगहरुमा यो प्रविधिको प्रयोग गरिँदै आएको छ । बुटवल–६ चाँदबारी चोक नजिकै आफ्नै भवनबाट सेवा दिँदै आएको हस्पिटलले अत्याधुनिक उपकरण, दक्षजनशक्तिको समायोजन र अत्याुधिनिक पुर्वाधारसहितको सेवाले बिरामीहरुका लागि बुटवल बाहिर उपचारकै लागि जानुपर्ने बाध्यताको अन्त्य गरेको दावी छ ।