

बुटवल । रुपन्देहीका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग विद्यार्थीहरूलाई प्रत्यक्ष जोड्ने उद्देश्यका साथ शुक्रबार बुटवलमा शिक्षा एक्स्पो–२०८२ सम्पन्न भएको छ ।
बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा सम्पन्न मेलामा रुपन्देहीका १६ प्रतिष्ठित शैक्षिक संस्थाको सहभागिता रहेको थियो । मेलामा १ हजार ५ सयभन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएका छन् । कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक प्रविण पन्थले राखेका थिए । यस एक्स्पोमा १३ कलेज र करिब ६० वटा शैक्षिक कार्यक्रम स्थल समेटिएका थिए ।

सहयोगमा करियर गाइडको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका शिक्षाविद् दलबहादुर गुरुङले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने पर्याप्त अवसरहरू रहेको उल्लेख गर्दै विदेशतर्फको शैक्षिक पलायन घटाउन सबै मिलेर पहल गर्नुपर्ने बताए । नेपालमा मात्र १ हजार ४०० बढी कलेज छन्, जसमा ३ लाख ५० हजार विद्यार्थी पढाउन सकिने क्षमता छ, तर हाल दुई लाख मात्र अध्ययनरत छन्, उनले तथ्यांक प्रस्तुत गर्दै भने, ‘स्वदेशमै पढ्नुपर्छ, सरकारले पनि ‘पढ्दै कमाउँदै’ जस्ता कार्यक्रम ल्याएको छ ।’
समाजसेवी चुन्नुप्रसाद पौडेलले युवाहरूलाई नेपालकै कलेजको क्षमता र अवसर बुझाउने किसिमको महत्वपूर्ण कार्यक्रम भएको धारणा राखे । उनका अनुसार, यस्ता एक्स्पोले अभिभावक र विद्यार्थीको सोच बदल्न सहयोग पु¥याउँछ ।
करियर गाइडका सीइओ जीवन पाण्डेले प्लस टु स्तरका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको एक्स्पोमा इञ्जिनियरिङ, व्यवस्थापन, स्वास्थ्य विज्ञान, सूचना प्रविधि, कृषि, होटल म्यानेजमेन्टलगायतका विषयमा स्नातक र स्नातकोत्तर तहका कार्यक्रम प्रस्तुत गरिएको जानकारी दिए । उनले शिक्षाका लागि ठूलो संख्यामा युवा र रकम बाहिरिँदो स्थितिलाई रोक्ने उद्देश्यले यस्ता गतिविधि आवश्यक रहेको बताए ।
करियर गाइडका म्यानेजिङ डाइरेक्टर अर्जुन खरेलले कक्षा १२ सकेपछि धेरै विद्यार्थी बुटवल छोडेर काठमाडौं वा विदेश पढ्न जाने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै, बुटवलमै गुणस्तरीय शिक्षा उपलब्ध छ भन्ने सन्देश दिन यो मेला आयोजना गरिएको बताए। उनका अनुसार, यस्ता कार्यक्रमहरूले स्थानीय कलेजको क्षमता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।
मेलामा सहभागी कलेजहरूले आफ्ना पाठ्यक्रम, शुल्क, छात्रवृत्ति, करियर गाइडलाइन लगायतका विस्तृत जानकारी प्रदान गरे । साथै, रोबोटिक्स प्रदर्शनी, करियर काउन्सिलिङ, प्रेरणादायी सत्र, लक्की ड्र, रमाइला खेल र सांस्कृतिक प्रस्तुति जस्ता गतिविधिहरूले मेलाको आकर्षण थपिएको थियो ।
शिक्षा एक्स्पोले युवालाई अवसर खोज्न देशमै बस्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै, आगामी वर्षहरूमा अझ व्यापक र नवीन सामग्रीसहित मेला आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् ।