

मिलन गाहा
बुटवल । तिलोत्तमा–९, रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) ले एशियाली स्तरको प्रतिष्ठित ‘एक्सेस सिल्भर ब्रान्ड २०२५’ प्राप्त गरेको छ । एशियाली क्रेडिट युनियन महासंघको प्राविधिक सहजीकरणमा नेपालका सहकारीहरूको छाता संगठन नेफ्स्कुनद्वारा सञ्चालित एक्सेस कार्यक्रमअन्तर्गत चार आयाममा उत्कृष्ट अंक ल्याउँदै यो उपलब्धि हासिल गरेको हो ।
यसअघि पनि ब्रान्ज र सिल्भर श्रेणीमा पुरस्कार पाइसकेको जनउत्थानलाई यसपटक (Access Silver Brand) शीर्षकमा सम्मान गरिएको हो । एशियाली क्रेडिट युनियन महासंघले २०२५ अगस्ट ७ मा सम्पन्न लेखापरीक्षणको परिणाम सार्वजनिक गर्दै नेतृत्व र विकास, आन्तरिक सुशासन, वित्तीय अवस्था तथा सदस्यताको स्थितिसहितका चार मापदण्डमा जनउत्थानले उत्कृष्ट प्रदर्शन गरेको जनाएको छ ।
साकोसका कार्यकारी प्रमुख रणबहादुर थापाका अनुसार यी सबै मापदण्ड पूरा गर्नु संस्थाको सुशासन र सुदृढ वित्तीय व्यवस्थापनको प्रमाण हो । २०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको एक्सेस कार्यक्रममा यो वर्ष नेपालबाट सिल्भर ब्रान्ड प्राप्त गर्ने एकमात्र साकोस जनउत्थान बनेको छ । यो खुशी सहकारीसँग सम्बन्धित सबै अभियानकर्तामा प्रवाह गर्न चाहेको प्रमुख थापाले बताए ।
सिमान्तकृत समुदाय र युवाहरुलाई साना व्यवसाय सुरु गर्न सहयोग गर्दै स्वरोजगार सिर्जनामा जनउत्थानले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । हाल यस संस्थामा करिब ३९ हजार सदस्य, ५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति, ३ अर्ब ५० करोड रुपैयाँ हाराहारीको बचत, २९ करोड रुपैयाँको सेयर पुँजी र झण्डै ३५ करोड रुपैयाँको जगेडा कोष रहेको छ । यो सहकारीलाई यसक्षेत्रका अब्बल सहकारी मध्येमा लिइन्छ । यसले ऋण लगानी करिब १ अर्ब १० करोड रुपैयाँ र ६ हजारभन्दा बढी रोजगारी सिर्जना गरेको छ । यो सबैको मेहनतले आर्जेको संस्थाको उपलब्धि मानिएको साकोसका अध्यक्ष गिरीप्रसाद पुन बताउँछन् ।
विसं.२०५९ सालमा ३१ जना सदस्यबाट स्थापना भएको जनउत्थानमा हाल ८९ जना प्रत्यक्ष कर्मचारी कार्यरत छन् । रुपन्देही जिल्लाभरि फैलिएका १० शाखा कार्यालयमार्फत सेवा दिइँदै आएको छ । अध्यक्ष पुनले यो उपलब्धिलाई संस्थाको पारदर्शी वित्तीय व्यवस्थापन र उत्पादन क्षेत्रमा गरिएको लगानीको परिणाम भएको भन्दै कार्यकारी प्रमुखदेखि सबै कर्मचारीसम्मको प्रशंसा गरे ।
यो वर्ष एशियामा पाँच सहकारीले मात्र एक्सेस ब्रान्ड पाएका छन् । जनउत्थानसँगै इन्डोनेशियाको ‘सौन सिबारुङ्ग क्रेडिट युनियन’ ले पनि यसपटक सम्मान पाएको छ । एशियाली क्रेडिट युनियन महासंघले आउँदो सेप्टेम्बर १२, २०२५ मा फिलिपिन्सको मनीलामा आयोजना हुने एशियाली क्रेडिट युनियन फोरम २०२५ को उद्घाटन समारोहमा औपचारिक रूपमा प्रमाणपत्र प्रदान गर्नेछ ।