

चीन । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच सोमबार भेटवार्ता भएको छ ।
व्यस्त कार्यतालिकाबीच पनि थियानजिनस्थित होटेल रिट्ज कार्लटोनमा भएको भेटवार्ताको प्रारम्भमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई नेताबीच छलफल भएको थियो । त्यसपछि करिब आधा घण्टा उनिहरुबीच एक्लाएक्लै छलफल भएको थियो । छलफलको अन्तिममा प्रतिनिधिमण्डलका सहभागी सदस्यलाई राष्ट्रपति पुटिनले भेटेका थिए ।
नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्ध तत्कालीन सोभियत सङ्घ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गर्दै राष्ट्रपति पुटिनले नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताए ।
प्रधानमन्त्री ओलीले व्यस्तताबीच नेपाललाई समय दिएकोमा राष्ट्रपति पुटिनलाई धन्यवाद दिँदै आपसी सम्बन्धलाई अझ विस्तार गर्न आग्रह गरे । उनले रुसमा पढेर स्वदेश फर्किएकाहरूले चिकित्सा क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा सेवा गरिरहेका उल्लेख गर्दै रुसको शैक्षिक अवस्था गुणस्तरीय रहेकामा प्रशंसा गरे ।
उनिरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान तथा शैक्षिक, सांस्कृतिक, पर्यटकीय, सूचना प्रविधि, लगानीलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । यसअघि प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चीनफिङलगायत विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता भएको थियो ।