शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

१९ भाद्र २०८२, बिहीबार
18 shares

बुटवल । बुटवलको सुख्खानगरस्थित शुभ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै संस्थापक तथा ज्येष्ठ सदस्य सुरेन्द्र श्रेष्ठले शुभमिलन हरेक हिसाबले उत्कृष्ट सहकारी रहेको बताए । बचत संकलन, ऋण लगानी लगायतका आधारमा शुभ मिलन उत्कृष्ट रहेको उनको भनाई थियो ।

सहकारीका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना तथा कार्यक्रमहरुबारे जानकारी गराए । सेयर सदस्यहरूका लागि १ लाख सम्मको दुर्घटना बीमा र मृत्यु भएमा ४ लाख बराबरको दुर्घटना मृत्यु बीमा गरी ५ लाख बराबरको रकम प्रदान गर्ने निर्णय गरेको अध्यक्ष ज्ञवालीले बताए । सुत्केरी शेयर महिला सदस्यलाई २ हजार पोषण सुविधा र ५ सयको नवजात शिशुको नाममा खाता खोलिदिने व्यवस्था गरेको उनले बताए ।

सहकारीका उपाध्यक्ष तथा बुटबल–८ का वडा सदस्य हरिहर ज्ञवालीले आफू जनप्रतिनिधि भएको नाताले बुटवलका सहकारीहरूको बारेमा जानकार रहेको र शुभ मिलन सहकारी हरेक हिसाबले सानो तर उत्कृष्ट रहेको धारणा राखेका थिए । साथै उनले सहकारीमा सदस्य बन्नुभन्दा पहिले संस्थाबारे राम्रोसँग बुझ्नुपर्ने बताए । कार्यक्रममा लेखासुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद ज्ञवालीले सहकारीको पारदर्शिता, सञ्चालकको निगरानी तथा सक्रियता र व्यवस्थापनले गर्दा सहकारी राम्रो रहेको धारणा राखे ।

यस्तै कोषाध्यक्ष अमृता कार्की पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका सबै सूचकाङ्क राम्रो रहेको जानकारी दिइन् । साधारणसभाले संस्थाको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । हाल २३६ सेयर सदस्य रहेको सहकारीमा शेयर पुँजी ६८ लाख १० हजार, कुल बचत २ करोड ३१ लाख ४३ हजार ७९४ तथा कुल लगानी २ करोड १० लाख ७६ हजार ५३३ रहेको छ ।

सहकारीले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट सेयरकर्ता र सदस्य वृद्धिका लागि योगदान गर्ने सेयर सदस्यहरू, उत्कृष्ट जिपीए ल्याउने शेयर सदस्यहरूका सन्ततिलाई सम्मान गर्दै आएको छ । कार्यक्रम सहकारीका सचिव श्यामप्रसाद राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।