

अमृत गिरी
बुटवल । सफलता कुनै आकस्मिक घटना होइन, निरन्तर मेहनत, प्रतिबद्धता र सकारात्मक दृष्टिकोणको परिणाम हो भन्ने उदाहरण हुन्–युवा उद्यमी र समाजसेवी शिव ज्ञवाली । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२, ग्वादी केलादीमा साधारण परिवारमा जन्मिएका ज्ञवाली परिवारका कान्छा सन्तान हुन् । गाउँको सरल वातावरणमा हुर्कँदै उनले जीवनलाई सकारात्मक दृष्टिले हेर्ने दृष्टिकोण पाए । शिक्षा र अनुभवले उनलाई बुटवलसम्म ल्यायो, जहाँ उनले आफ्नो मेहनत, लगनशीलता र दृष्टिकोणको बलमा व्यवसाय, उद्यम र समाजसेवामा नयाँ उचाइ हासिल गरे ।
ज्ञवालीले आफ्नो उद्यमशील यात्राको सुरुवात औषधी व्यवसायबाट गरे । उनलाई विश्वास थियो–व्यवसाय केवल नाफा कमाउने माध्यम होइन, समाजलाई योगदान गर्ने अवसर पनि हो । यही सोचले उनले ‘लाइभ’ नामको औषधी उद्योग स्थापना गरे, जसले आज २५० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

ज्ञवालीको नेतृत्व क्षमताको अर्को उदाहरण बुटवल देवीनगरमा रहेको लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताल पनि हो । त्यहाँको सञ्चालक समितिको अध्यक्ष रहँदा (करिब तीन वर्ष) उनले अस्पताललाई उपचार मात्र दिने संस्थाबाट रुपान्तरण गरी अनुसन्धान, जनचेतना र वैकल्पिक उपचारको भरपर्दो केन्द्र बनाउन अग्रसर भए ।
दैनिक २०–२२ जनासम्म बिरमीहरु आउने र भित्र पस्नै डराउनुपर्ने ठाउँको अहिले मुहार फेरिएको छ । दैनिक २५० देखि ३०० जनासम्म बिरामीले आयुर्वेदको उपचार लिन आउँछन् । अस्पतालको नयाँ र व्यवस्थित भवन बनेको छ, ओपिडी र अन्तरङ्गका अलग–अलग विभाग र सुविधासम्म उपचारकक्ष बनेका छन् । आयुर्वेद ओखतीको प्रबन्धदेखि अस्पताल प्रशासनका कामलाई डिजिटाइसेन र पारदर्शी बनाउने काम ज्ञवालीकै नेतृत्वमा भएको हो ।
ज्ञवालीको यात्रा केवल उद्यममा सीमित छैन । बाल अधिकारको संरक्षण, विपन्न समुदायका लागि सहयोग, रक्तदान अभियान, वृक्षारोपण र पर्यावरण संरक्षणमा पनि उनी सरिक हुने गरेका छन् । उनको नेतृत्वमा रहेका संघसंस्था तथा क्बलहरुले एक वर्षमै झण्डै दर्जन जति अवार्ड प्राप्त गर्नु उनको कुशल नेतृत्वको परिणाम मानिन्छ ।
पछिल्लोपटक रोटरी क्लब अफ बुटवल डाउनटाउनले रोटरी वर्ष २०२४/२५ को सर्वोत्कृष्ट क्लबको उपाधि प्राप्त ग¥यो । यो उपाधि क्लबको २४ वर्ष लामो यात्रामा पहिलोपटक आएको हो जसको नेतृत्वमा थिए उनै ज्ञवाली । नेपाल र भुटानका १६० वटा क्लबबिच प्रतिस्पर्धा सर्वोत्कृष्ट क्लबको उपाधि जितेका छन् । योसहित अध्यक्ष ज्ञवालीको नेतृत्वमा क्लबले एकै वर्षमा ११ वटा जति विधामा उत्कृष्टताको उपाधि प्राप्त गरिसकेको छ । उनले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, बाल अधिकार, मानव सेवा शान्ति स्थापना र द्वन्द्व व्यवस्थापनलगायतका काममा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

बाल्यकालदेखि प्रतिबद्धताको बिजारोपण
ज्ञवालीको जीवन–यात्रा साधारण परिवारदेखि सुरु भएको हो । परिवारको कान्छो सन्तानका रुपमा जन्मिएर अध्ययनका सिलसिलामा गुल्मी हुँदै बुटवल, काठमाण्डौ र फेरि बुटवलमै आएर उच्च शिक्षा हासिल गरेपछि ज्ञवालीले २०५५ सालमा औषधीको विक्री वितरणको व्यवसाय सुरु गरेका थिए ।
अहिले उनी व्यवसायी मात्रै होइन, ठूलो औषधी उद्योगको मालिक पनि बनिसकेका छन् र २५० जनाभन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । ‘लाइभ’ नामको कम्पनीले आयुर्वेद र एलोपेथिक दुवै प्रकारका औषधीको उत्पादन गरी देश विदेशमा पु¥याउँदै आएको छ । करिब एक दशक जति औषधी व्यवसायीहरुको छाता संस्थाको जिल्ला, अञ्चल हुँदै प्रदेशको नेतृत्व गरेका आधारमा पनि उनलाई औषधिको क्षेत्रमा राम्रो दख्खल मिलेको छ ।
व्यवसायिक जगतमा प्रवेश गरेपछि ज्ञवालीले आफ्नो उद्यमलाई मात्र होइन, प्रदेशकै आर्थिक विकासलाई प्राथमिकतामा राखेर काम गरेको बताउँछन् । उनी अहिले नेपाल चेम्बर्स अफ कमर्स लुम्बिनी प्रदेशको महासचिव र विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् । यो जिम्मेवारीले उनलाई प्रदेशको व्यवसायिक हित, नीति निर्माण र उद्योग–व्यापार प्रवद्र्धनमा सक्रिय बनाएको छ ।
‘उद्यमशील दृष्टिकोण केवल नाफा कमाउने उद्देश्यमा सीमित गर्नुहुँदैन, बरु रोजगारी सिर्जना, स्थानीय स्रोत–साधनको सदुपयोग र प्रदेशको समग्र आर्थिक उन्नतिमा केन्द्रित गर्न जरुरी छ,’ ज्ञवालीको भनाइ छ । उनी भन्छन्,‘सफलता व्यक्तिको होइन, टिमको हुन्छ, टिमवर्कबाटै सफलता प्राप्त गर्न सकिन्छ । सामूहिक प्रतिबद्धता र साझा दृष्टिकोण बिना उपलब्धि सम्भव हुँदैन । मेहनत, दृढता र सकारात्मक दृष्टिकोण अहिलेको आवश्यकता हो ।’