लुटपाट तथा चोरी गरिएका सामान फिर्ता गर्न राजस्व अनुसन्धान कार्यालयको आग्रह

मेचीकाली संवाददाता

३० भाद्र २०८२, सोमबार
39 shares

बुटवल । गत साउन २४ गतेको आन्दोलनका क्रममा राजस्व अनुसन्धान कार्यालय बुटवलमा भएको तोडफोड, आगजनी र लुटपाटमा चोरी भएका सामान फिर्ता गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।

कार्यालयले सोमबार जारी गरेको सूचनामा आन्दोलनकै बीचमा कार्यालयका विभिन्न सामग्री–जस्तै कम्प्युटर सेट, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, टेबल–कुर्सी, कागजातलगायतका कार्यालयका संवेदनशील र महत्वपूर्ण उपकरण तथा सामानहरु चोरी भएको उल्लेख छ ।

कार्यालयका अनुसार सो घटनामा संलग्न व्यक्तिहरुको फोटो तथा भिडियोमार्फत पहिचान गर्ने काम भइरहेको र पहिचान गरिएकाहरुका तस्बिर विवरण प्रहरी कार्यालयहरुमा पनि पठाइएको छ ।
त्यस्ता सामग्री कसैले फिर्ता गर्ने वा प्राप्त गरेको अवस्थामा राजस्व अनुसन्धान कार्यालय बुटवल वा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिन अनुरोध गरिएको छ । सूचनामा भनिएको छ, ‘अन्यथा कानुन बमोजिम ऐन अनुसार आवश्यक कारबाही हुनेछ ।’

राजस्व अनुसन्धान कार्यालयले आन्दोलनका नाममा भएको तोडफोड, लुटपाट र चोरीलाई गम्भीर अपराधका रूपमा लिँदै जनतालाई सचेत रहन र चोरी गरिएका सम्पत्ति छिट्टै फिर्ता गर्न आग्रह गरेको छ ।

जेन जी नाममा भदौ २३ र २४ गते भएको आन्दोलन विध्वंश र लुटपाटमा परिणत भएपछि मुलुकभरका सरकारी, निजी क्षेत्र र व्यक्तिका घरमा छानीछानी लुटपाट, तोडफोड र आगजनी भएको थियो । त्यसक्रममा राजस्व अनुसन्धान कार्यालय बुटवलमा पनि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।