बुटवलमा खुल्यो पाँच तारे होटल ‘हायात प्यालेस’

मेचीकाली संवाददाता

२४ कार्तिक २०८२, आईतवार
11 shares

प्रकाश आचार्य

बुटवल । निजी क्षेत्रको लगानीमा बुटवलमा पाँच तारे होटल हायात प्यालेस सञ्चालमा आएको छ । यस क्षेत्रका प्रतिष्ठित उद्योगीहरूको लगानीमा निर्माण भएको होटल बिस्तारको क्रममा रहेको बुटवल–नारायगढ सडक खण्डको हाइवेको सेन्टर पोइन्ट राजमार्ग चौराहा नजिकै अवस्थित छ । ३ अर्ब ५० करोड रुपैयाँको लगानीमा निर्माण भएको हायात प्यालेस बुटवलको पहिलो र रुपन्देहीको पाँचौं फाइभ स्टार होटल हो । ५ वर्षमा निर्माण सम्पन्न गरी आइतबारदेखि होटल सञ्चालनमा आएको होटलका अध्यक्ष चुन्नप्रसाद पौडेलले जानकारी दिए ।

होटलको अगाडि १० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र र ३ हजार क्षमताको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) छन् । ‘हाम्रो होटल बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अगाडि रहेको छ, सम्मेलन केन्द्रमा ठूला सभा सम्मेलन हुँदा त्यसको अगाडि रहेको फाइभ स्टार होटलमा बस्न पर्यटकहरूलाई सहज हुनेछ ।,’ अध्यक्ष पौडेल भन्छन्, ‘मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएकोले हायात प्यालेस बुटवललाई हामीले गहनाको रूपमा लिएका छौं ।,’

होटलबाट भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्न २४ किलोमिटरको दूरी छ । यस्तै गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्न ४६ किलोमिटर र नेपाल–भारत सीमा सुनौली नाका पुग्न २८ किलोमिटर दुरी रहेको छ । २५ कट्ठा क्षेत्रफलमा यो होटल फैलिएको छ । पाँच तारे होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन र ब्याङकेट हल, क्यासिनो, स्पा र अन्य सुविधाहरू रहेका छन् । भने यहाँको खाना ‘थट्फुली सोस्र्ड केयरफुली सभ्र्ड’ दर्शनमा आधारित रहेको छ । होटल सञ्चालकमा चुन्नप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर पौडेल, उमाशंकर मालपानी, भूमिराज पौडल र श्रवण बेरिवाल रहेका छन् ।

ग्लोबल आइएमई बैंक र होटल स्याफ्रोन सिकेको लगानीमा निर्माण भएको होटलमा व्यवस्थापन र सञ्चालनको जिम्मा हायात प्रालिको रहेको छ । होटल एक विगाहा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । होटल सञ्चालक भूमिराज पौडेलले होटलले बुटवलको पर्यटन क्षेत्रमा ठूलो टेवा पु¥याउने अपेक्षा लिइएको बताए । ‘होटल म्यानेजमेन्टको जिम्मा विश्वस्तरमा ख्याती कमाएको हायात ग्रुपले लिएको छ,’ भूमिराज भने, ‘बुटवल–नारायणगढ सडक पूर्ण रुपमा सञ्चालनमा आएपछि र गौतमबुद्ध विमानस्थल भैरहवा राम्रोसँग चलेपछि हायात होटलले यस क्षेत्रको विकासमा एउटा इँट्टा थप्ने अपेक्षा हामीले लिएका छौं । क्यासिनो पनि अबको एक वर्षभित्र पूर्णरूपमा सञ्चालनमा आउनेछ ।’ होटलमा ब्यांकेट हल र सेमिनार हल ४ वटा रहेका छन् ।

फाइभ स्टारको सबै मापदण्ड पूरा गरेर फूलफेजमा सञ्चालनमा ल्याइएको पौडेलको भनाइ छ । होटलमा एकसाथ २५० जना पाहुन बस्न सक्नेछन् । होटलमा १०९ वटा कोठाहरु सुन्दर डिजाइनले सजाइएकोछ । रुमहरु स्टयान्डर्ड, फरेष्ट भ्यू, हिल भ्यू, बाल्कोनी, एन्जिक्यूटिभ सुइटस, प्रेसिडेन्सियल सुइटस रहेको अर्का सञ्चालक नरिश्वर पौडेलले बताए । हरेक कोठामा पाहुनाको आरामका लागि विशेष ‘हायात ग्रान्ड बेड’, आरामदायी कोजी सोफा–स्लीपर र काम गर्ने छुट्टै मेचको व्यवस्था रहेको उनले बताए । ‘यहाँको डिजाइनमा बोधी वृक्षको पातको आकृति जस्ता स्थानिय साँस्कृतिक तत्वहरु पनि देख्न सकिन्छ, जुन शक्ति र ज्ञानको प्रतिक हो ।,’ सञ्चालक पौडेलले भने ।

२०७७ सालमा होटल निर्माणको सुरूवात गर्दा २०७९ साल भित्रै सञ्चालनमा ल्याउने गरी सुरू गरिएको भए पनि कोभिड १९ को महामारी र त्यसपछि सुस्त बनेको आर्थिक क्षेत्रको कारण निर्माणमा ढिलाइ भएको थियो । रुपन्देहीमा विमानस्थललाई लक्षित गरेर अर्बौं लगानीका होटल खुल्ने क्रम जारी छ । रुपन्देहीमा फाइभ स्टार होटल थपिने क्रम जारी रहेका छन । रुपन्देहीका सबैजसो स्तरीय होटलको प्रमुख टार्गेट भारतीय पर्यटक हुन् । ‘अहिले यो क्षेत्रमा भारतीय पर्यटकहरूको आकर्षण बढेको छ, नजिकै रहेको भारतको उत्तर प्रदेशमा रहेको करिब २४ करोड जनसंख्या मध्ये केहि प्रतिशतलाई मात्र ल्याउन सकिएपनि नेपालकै पर्यटन क्षेत्र धानिन्छ ।,’ सञ्चालक पौडेलले भने ।

यो होटल पूर्ण क्षमतामा सञ्चालनमा आउँदा ३५० जनाले रोजगारी पाउनेछन् । सन् २००६ मा सुरु भएको ‘हायात प्यालेस’ ब्रान्ड हाल संसारभर ४२० भन्दा बढी स्थानहरुमा फैलिसकेको छ । पछिल्लो समय रुपन्देही होटलहरुको हवको रुपमा विकास हुँदै गएको छ ।