नेपाल प्रहरीको कमाण्ड आईजीपी दानबहादुर कार्कीको काँधमा

मेचीकाली संवाददाता

२६ कार्तिक २०८२, मंगलवार
19 shares

बुटवल। नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनी हाल काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै सोमबार सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।

डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो । चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् ।
कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।

आईजीपीमा नियुक्त भएका कार्कीले करिब २९ महिना नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने भएका छन् । अहिलेको प्रहरीको नियमावलीको अवकाश तथा पदावधिसम्बन्धि व्यवस्थाअनुसार १८ चैत २०८४ सम्म उनी महानिरीक्षक हुनेछन् । कार्की १८ चैत २०५४ सालमा नेपाल प्रहरीमा भर्ना भएका हुन् । प्रहरीको ३० वर्षे सेवाहद रहेकाले १८ चैत २०८४ मा उनको अनिवार्य अवकाश हुनेछ ।

को हुन् कार्की ?
२०२९ सालको साउन १५ गते जन्मिएका कार्कीको स्थायी ठेगाना गुल्मीको मालिका गाउँपालिका–७ हो । २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका उनी २०६६ साल मंसिरमा डिएसपीमा पदोन्नती भएका थिए । २०७४ मा एसपी, २०७९ मा एसएसपी तथा २०८१ को जेठमा डिआइजी भएका उनी २०८२ को बैशाखमा एआइजीमा बढुवा भएका थिए । पछिल्लो समय उनी उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए । एआइजीको वरियतामा पहिलो नम्बरमा रहेका कार्कीलाई नै सरकारले प्रहरीको नेतृत्व सुम्पिएको छ ।
इन्स्पेक्टरको तालिम सकिएपछि उनी २०५६ सालको चुनावमा सिन्धुली खटिएका थिए । फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव कार्कीसँग छ । उनले सशस्त्र प्रहरी गण नं. १ गुल्म नेपालगञ्जमा काम गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुममा काम गरेका छन् । त्यतिबेला युद्धकाल रहेकाले रुकुम निकै जोखिमपूर्ण रहन्थ्यो । तर आफू मातहतका सबै प्रहरी सकुशल रहन सफल भएको सम्झना कार्कीसँग छ ।

इलाका प्रहरी कार्यालय काँकडभित्ता झापामा बसेर काम गरेको अनुभवन उनीसँग छ । भारतसँग सीमा जोडिएको यो नाका आकर्षक र चुनौतीपूर्ण दुवै मानिन्छ । यसपछि उनी प्रहरी प्रधान कार्यालयको युएन शाखा नक्सालमा बसेर काम गरे । त्यस्तै जिल्ला प्रहरी कार्यालय तनुहँ, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा बसेर उनले काम गरे ।
जिल्ला प्रहरी कार्यालय सप्तरी, लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर, ट्राफिक प्रहरी महाशाखा, अख्तियार, जिल्ला प्रहरी कार्यालय कास्की बसेर उनले काम गरेका छन् । त्यस्तै, प्रहरीको विशेष ब्यूरो, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बसेर काम गरे । एसएसपी भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको इन्चार्ज भए । त्यतिबेला बहुचर्चित भुटानी शरणार्थी काण्डको अपरेशन चलेको थियो । मुद्दाको काम उनै कार्कीले गरे भने पक्राउको मुख्य काम मनोज केसीले गरेका थिए ।

डीआईजी भएपछि केन्द्रीय प्रहरी प्रवक्ता भएर काम गरे । त्यसपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय भएर काम गरे । एआईजी भएपछि मानव स्रोत विकास विभागमा बसेर काम गरे । त्यहीबाट उपत्यका प्रहरी कार्यालय रानिपोखरी आएका उनी आईजीपीमा नियुक्त भएका हुन् ।
उनले मानविकी तथा समाजशास्त्रमा स्नातक, शिक्षाशास्त्रमा स्नातक, कानून संकायमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तकर गरेका छन् । कार्कीले प्रहरी सेवामा प्रवेश गरेदेखि अहिलेसम्म १४ वटा पुरस्कार प्राप्त गरेका छन् । जुन अभिलेखमा जनिने गरी नगदसहित प्रदान गरिएको छ ।

सेवा प्रवेश गरेको चार वर्षपछि १ वैशाख २०६० मा कार्कीले संयुक्त राष्ट्रसंघ पदक प्राप्त गरेका थिए । उनलाई पूर्वी टिमोरमा संयुक्त राष्ट्र संघको मिशनले उक्त पुरस्कार दिएको थियो । संयुक्त राष्ट्र संघले उक्त पदक दिँदा यता प्रहरी प्रधान कार्यालयले पनि उनलाई त्यति बेलै प्रदेश सेवा पदक दिएको थियो ।

पूर्वी टिमोरमा संयुक्त राष्ट्र मिशनले १४ कात्तिक २०६० मा उनलाई प्रशंसापत्र दिएको थियो । २३ मंसिर २०६० मा संयुक्त राष्ट्र संघले नै उनलाई प्रशंसा र धन्यवाद ज्ञापनपत्र दिएको थियो । त्यस्तै नेपाल सरकारले ३ असोज २०७५ मा प्रबल जनसेवाश्री प्रदान गरेको थियो । गण्डकी प्रदेश सरकारबाट ४ फागुन २०७६ मा ५ हजार नगदसहित उनी पुरस्कृत भएका थिए ।