सैनामैना व्यापार संघको साधारणसभा: लगानीको सुरक्षासँगै प्रोत्साहनको खाँचो

मेचीकाली संवाददाता

२७ कार्तिक २०८२, बुधबार
35 shares


सैनामैना । निजी क्षेत्रको सशक्तिकरण र लगानीमैत्री वातावरण निर्माणमा जोड दिंदै सैनामैना व्यापार संघको नवौं साधारण सभा बुधबार सैनामैनाको मुर्गियामा सम्पन्न भएको छ । संघका अध्यक्ष सुरेन्द्र शर्मा पौडेल उपाध्यायको अध्यक्षतामा सम्पन्न सभामा वक्ताहरूले स्थानीय आर्थिक विकास र समृद्ध सैनामैनाको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले समृद्धिको मार्ग सार्वजनिक, निजी र सहकारी क्षेत्रको सशक्त सहकार्यबाट सहज बन्ने उल्लेख गरे । ‘लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्रलाई आत्मविश्वास दिलाउने र लगानी आकर्षित गर्ने खालका योजना अघि बढाएको, लगानीको सुरक्षाका लागि पनि गम्भीर भएको छ,’ मन्त्री ढकालले भने–निजी, सर्वजनिक र सहकारीका बीचमा सहकार्यको विशेष खाँचो छ ।’

सैनामैनालाई आर्थिक रूपमा आत्मनिर्भर नगर बनाउने अभियानमा सबैको सहकार्यको खाँचो रहेको मन्त्री ढकालको भनाइ थियो । उनले सरकार र निजी क्षेत्रबीचको सहकार्य, व्यवसायीहरूको एकता, पारदर्शिता र उत्तरदायित्वमा आधारित कामले सैनामैना नगरलाई प्रदेशकै नमुना नगरको रूपमा अघि बढाउने विश्वास व्यक्त गरे ।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले लगानीकर्तामा उत्साह जगाउने र निजी क्षेत्रको हकहितमा तीनै तहका सरकारको भूमिका निर्णायक हुने बताए । उनले स्थापनाको हिरक महोत्सवको अवसर पारेर चेम्बरले विशेष योजना समेत तय गरेको भन्दै पालिका स्तरमा पनि कार्यक्रम तय गरिएको उल्लेख गरे ।

कार्यक्रममा सैनामैना नगरपालिकाका पूर्वनगरप्रमुख चित्रबहादुर कार्की, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद पोख्रेल, व्यापार संघका संस्थापक अध्यक्ष रामेश्वर शर्मा, देवदह व्यापार संघका अध्यक्ष माधव शर्मा, संघका वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी र महासचिव भीम सुवेदीलगायतले व्यापारीबीचको एकता र संस्थागत सहकार्यलाई मजबुत बनाउँदै सरकारसँग नजिक समन्वय गर्नुपर्नेमा जोड दिए ।

संगठन सुदृढीकरण र आत्मनिर्भरता अभियान
व्यापार संघका अध्यक्ष पौडेलले नवौं साधारणसभामा प्रस्तुत गरेको प्रतिवेदनमा संघको संगठनात्मक सुदृढीकरण, आर्थिक पारदर्शिता र भविष्यका ठोस कार्ययोजनाहरू समावेश छन् । विसं.२०७१ साल भदौमा पर्रोहा शाखा रुपमा सुरु भएको संस्थाले आज सैनामैना नगरका सबै वडामा सक्रिय व्यापारिक सञ्जाल विस्तार गरेको र सदैव व्यापारी, व्यवसायीको हक हितका साथै उपभोक्ताको समेत हकहितमा विशेष कार्यक्रम गर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिए ।
संघले सदस्यता नवीकरण नियमित गरेको, सदस्यहरूको दुर्घटना बीमा योजना निरन्तरता दिएको, वार्षिक महोत्सव, शुभकामना आदान–प्रदान कार्यक्रम र लेखा अभिमुखीकरण गोष्ठीहरू सञ्चालन गरेको उल्लेख गरे ।

स्थायी महोत्सव स्थल र भवन निर्माण प्राथमिकतामा
संघले सैनामैनामा स्थायी महोत्सव स्थल निर्माण र आफ्नै कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । यसका लागि कानुनी प्रक्रिया पूरा भइसकेको र निकट भविष्यमा भवन निर्माणको पहल अघि बढाइने अध्यक्ष पौडेलले स्पष्ट पारे । उद्योग वाणिज्य संघका अध्यक्ष पोख्रेलले पनि दुबै संघका बीचमा सहकार्य गरेर बरु एउटै व्यवस्थित भवन निर्माण गर्न सकिने सुझाव प्रस्तुत गरे ।

पुस २५ देखि माघ ६ गतेसम्म सैनामैना महोत्सव
सैनामैना व्यापार संघले आउँदो पुस २५ गतेदेखि सैनामैना महोत्सव सञ्चालन गर्ने तयारी गरेको छ । यो संघले यसअघि नै बनाएको कार्ययोजना हो । यसका लागि संघले विभिन्न समितिहरु समेत बनाएको छ । अहिले हुने महोत्सव सातौं हो । यहाँ आलोपालो महोत्सव सञ्चालन हुँदै आएको छ ।

संघले स्थायी आम्दानीका स्रोतहरू विकास गर्ने, नगरका हरेक वडामा व्यवसायी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, राजस्व सचेतना र लेखा तालिमहरूलाई प्रभावकारी बनाउने, स्थानीय सरकारसँग सहकार्य गरी राहत, कर प्रणाली सुधार र बैंक–वित्तीय समस्याको समाधानमा जोड दिने योजना बनाएको अध्यक्ष पौडेलको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, संघले व्यवसायीहरूको हकहित सुरक्षित गर्न घरबहाल कर घरधनीबाट उठाउने प्रणाली कार्यान्वयनको सिफारिस, नापतौल यन्त्र परीक्षण शिविर सञ्चालन र राजस्व पारदर्शितामा प्रोत्साहन कार्यक्रमको तयारी गरेको संघका महासचिव सुवेदीले जानकारी दिए ।