बुटवल । राष्ट्रसेवक सहकारी संस्थाको २८ औँ वार्षिक साधारणसभा तथा अधिवेशन भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले डासुराम पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
जसको उपाध्यक्षमा बिष्णुप्रसाद बस्याल, सचिवमा कमलकान्त खनाल र कोषाध्यक्षमा नरमाया श्रीस रहेका छन् । यस्तैगरी सदस्यहरुमा डिजाइनप्रसाद थापा, उमा काफ्ले, टंकनाथ शर्मा, चुरामणि पाण्डे र सीता खनाल चयन भएका छन् । यस्तै लेखा सुपरीवेक्षण समिति संयोजकमा बिष्णु बस्याल, सदस्यहरुमा नरेन्द्रप्रसाद गैरे र शारदा मरासिनी चयन भएका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष शालिकराम पाण्डेले संस्थाको सांगठनिक र वार्षिक प्रतिवेदनसहित ४ वर्षे कार्यकालको संक्षिप्त उपलब्धि र आ.व. ०८१/०८२ मा सम्पन्न गरेका कार्यक्रमहरुबारे जानकारी गराए । संस्थाका सदस्य कमलकान्त खनालद्धारा तयार गरि विस्तारित बैठकबाट पारित १४ वटा सञ्चालनसम्बन्धी कार्यविधिहरु सर्बसम्मत रुपमा पारित गरिएको थियो । संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक बिष्णु बस्यालले संस्थाको आव ०८१/०८२को बजेट तथा यथार्थ खर्च र ०८२/०८३ को आय व्ययको अनुमानित विवरणसहित त्रिवर्षीय रणनीतिसम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।
२०५५ सालमा ४३ जना संस्थापक शेयर सदस्यहरु जोडिएर स्थापना भएको संस्थामा हाल १ हजार १७० जना सदस्य रहेका छन् । सोही अवसरमा संस्थाका कोषाध्यक्ष विनोदकुमार पौडेलको संयोजकत्वमा गठित समितिले भाग्यशाली उपहार कार्यक्रम सञ्चालन गरी ७ वटा पुरस्कार बितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष भवानी दाहाल, महासचिव रामचन्द्र अधिकारीलगायतले बोल्दै नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई बधाई दिँदै बदलिँदो परिस्थितिमा प्राप्त गहन जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न आग्रह गरे ।
निर्वाचन मण्डलका अध्यक्ष टिकाराम अधिकारीले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउँदै सफलताको शुभकामना व्यक्त गरे । संस्थाका सचिव रामप्रसाद शर्माको सञ्चालनमा कार्यक्रमक्रम सम्पन्न भएको थियो ।
