बुटवल । अबदेखि नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कारणवश डाइभर्ट हुनुपरेमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने भएका छन् । निगमले ३ मंसिरदेखि जहाज डाइभर्ट हुँदा भैरहवा विमानस्थल प्रयोग गर्ने भएको हो ।
जुनसुकै कम्पनीका जहाजले हरेक उडानमा उडान र अवतरण गर्ने विमानस्थलका अलाबा वैकल्पिक विमानस्थलसमेत तय गर्नुपर्छ । कुनै कारणवश जहाज डाइभर्ट गर्नुपरेमा पहिले तय गरिएको वैकल्पिक विमानस्थलमा जानुपर्ने हुन्छ । हालसम्म नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसक्दा भारतको विमानस्थलमा जाने गरेको थियो ।
देशमै थप दुई अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प हुँदा–हुँदै दिल्ली डाइभर्ट हुने गरेको भन्दै निगमको आलोचना हुँदै आएको थियो । चौतर्फी गुनासो र दबाबपछि निगमले अब भैरहवालाई वैकल्पिक विमानस्थल तोकेको हो ।
‘अब कुनै पनि कारणले जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने निर्णय भएको छ,’ निगमले उल्लेख गरेको छ । यसरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्दा उल्लेखनीय खर्च कटौती भई समयको बचत हुने विश्वास निगमले लिएको छ ।
यसका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्नका लागि आवश्यक अध्ययनको प्रक्रिया थालनी गर्ने निर्णयसमेत भएको प्रवक्ता अनिल घिमिरेले बताएका छन् ।
