मुक्ति न्यौपाने
वालिङ। स्याङ्जाको वालिङमा आगामी माघ १४ देखि २५ गतेसम्म नवौँ वालिङ महोत्सव हुने भएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ नारासहित प्रदेशस्तरीय कृषि, पर्यटन, संस्कृति र औद्योगिक व्यापार मेला तथा वालिङ् महोत्सवको आयोजना हुने भएको हो ।
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवमा व्यापारिक मेला, विद्यालयस्तरीय नृत्य, लोकदोहोरी, सुन्तला तथा ताजा तरकारी प्रदर्शनी महोत्सवका मुख्य आकर्षण रहने संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए । स्थानीय उत्पादनलाई प्राथमिकता दिएर महोत्सव सञ्चालन गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताएका छन । महोत्सवमा अर्गानिक कफी, पशुपंक्षीका उन्नत जात तथा प्रविधि, अदुवा–जडीबुटी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, खेलकुद प्रतियोगिता र बाल उद्यानसमेत समावेश हुने संघले जनाएको छ ।
गण्डकीमा लेखनाथ महोत्सवपछिको सफल उदाहरणका रूपमा चिनिँदै आएको वालिङ महोत्सवलाई विगतको वर्ष भन्दा फरक र अझ आकर्षक बनाउने तयारी भइरहेको संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए । “यो महोत्सव वालिङबासीको मात्र होइन, गण्डकीका सबै जिल्लाको पहिचान हो,” उनले भने, “अगाडि बढेको कृषि, संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनमा यसले ठूलो भूमिका खेलेको छ ।”
यसपटकको महोत्सवमा १० करोड रुपैयाँ बराबरको कारोबार र तीन लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको छ । महोत्सवबाट एक करोड ७६ लाख आम्दानी र एक करोड दुई लाख खर्च हुने अनुमान गरीएको छ । हरेक दुई–दुई वर्षमा आयोजना हुने महोत्सवले आर्थिक र सांस्कृतिक उन्नतिसँगै वालिङलाई एक सुन्दर र सक्रिय शहरका रूपमा चिनाउन निरन्तर टेवा पु¥याउँदै आएको छ ।
