रुपन्देहीमा दुई दिने ‘वर्डक्याम्प नेपाल २०२६’ हुने

मेचीकाली संवाददाता

१० मंसिर २०८२, मंगलवार
37 shares

बुटवल । रुपन्देहीमा दुई दिने ‘वर्डक्याम्प नेपाल २०२६’ हुने भएको छ । नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रको विकासलाई काठमाडौँ बाहिर विस्तार गर्ने उद्देश्यका साथ ‘वर्डक्याम्प नेपाल २०२६’ यसपटक लुम्बिनी प्रदेशको रुपन्देहीमा आयोजना हुने भएको हो ।

वेबसाइट निर्माण र व्यवस्थापनमा सबैभन्दा लोकप्रिय प्लेटफर्म ‘वर्डप्रेस’ मा केन्द्रित यो अन्तर्राष्ट्रिय सम्मेलन आईटी क्षेत्रका विद्यार्थी, डेभलपर, ब्लगर, व्यवसायी र डिजिटल मार्केटिङका पारखीहरूलाई लक्षित गरी आगामी माघ ९ र १० गते (जनवरी २३ र २४) तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित विश्राम बाटिकामा आयोजना हुँदैछ ।

विगतमा काठमाडौंमा सीमित रहने यस्ता कार्यक्रमहरू यसपटक रुपन्देहीमा हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आयोजकका अनुसार प्रविधि र व्यापारको केन्द्रका रूपमा उदाउँदै गरेको बुटवल र आसपासका क्षेत्रलाई ‘टेक–टुरिजम’ को हब बनाउन रुपन्देहीमा कार्यक्रम आयोजना गरीएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी नजिक पर्ने भएकाले देश तथा विदेशबाट आउने सहभागीहरूले प्रविधिको ज्ञानसँगै लुम्बिनीको आध्यात्मिक शान्ति र प्राकृतिक सौन्दर्यको अनुभव लिन पाउनेछन् । आयोजकले यसलाई ‘मोफसलमा प्रविधि हस्तान्तरण’ को एक कोसेढुङ्गा मानेका छन् ।

दुई दिनसम्म आयोजना हुने कार्यक्रमलाई ‘योगदान’ र ‘सिकाइ’ गरी दुई भागमा विभाजन गरिएको छ । पहिलो दिन पूर्ण रूपमा ‘एक्सन’ मा आधारित हुनेछ । सहभागीहरूले विभिन्न समूहमा बाँडिएर वर्डप्रेसको कोर सफ्टवेयरमा कोडिङ गर्ने, सुरक्षा प्रणाली जाँच्ने, र नेपाली भाषामा अनुवाद गर्ने जस्ता काममा प्रत्यक्ष योगदान दिनेछन्। नयाँ विद्यार्थीहरूले यस दिन अनुभवी मेन्टरहरूसँग बसेर ‘ओपन सोर्स’ कम्युनिटीमा काम गर्ने तरिका सिक्नेछन् ।

यस्तैगरी दोस्रो दिन मुख्य सम्मेलन हुनेछ । जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी विज्ञहरूले वेबसाइट निर्माण, आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को प्रयोग, डिजिटल मार्केटिङ र ई–कमर्सको भविष्यबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । साथै, प्यानल छलफल र व्यावहारिक कार्यशालाहरू पनि सञ्चालन हुनेछन् ।

वर्डक्याम्प नेपाल २०२६ मा सहभागी हुँदा विद्यार्थी, व्यवसायी र पेसाकर्मीहरूले देशका प्रतिष्ठित आईटी कम्पनीहरू र रोजगारदाताहरूसँग प्रत्यक्ष भेटघाट गरी रोजगारी वा इन्टर्नसिपको अवसर खोज्न सक्नेछन् । यस्तै स्थानीय व्यवसायीले आफ्नो व्यवसायलाई कसरी अनलाइनमा लैजाने र डिजिटल अर्थतन्त्रको हिस्सा बन्ने भन्ने ज्ञानसमेत पाउने छन् । भने वर्डप्रेसको विश्वव्यापी समुदायसँग जोडिएर घरमै बसी विदेशी मुद्रा आर्जन गर्ने सीप र तरिकाहरू सिक्न पाइने आयोजकको भनाई छ ।

कार्यक्रममा सहभागी हुन चाहनेहरूले अनलाइनबाट रजिस्ट्रेसन गर्न सक्नेछन् । जसका लागि अनलाइनबाट रजिस्ट्रेसन खुला भइसकेको छ । मोफसलमा भइरहेको यो ऐतिहासिक कार्यक्रममा रुपन्देही र आसपासका क्षेत्रका साथै देशभरबाट उल्लेख्य सहभागिता रहने आयोजकको अपेक्षा छ ।

https://nepal.wordcamp.org/2026/