बुटवल, मंसिर १२ । बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फूडबल प्रतियोगिता हुने भएको छ । फूटबल खेललाई ब्राण्डको रुपमा स्थापित गरी खेलाडी उत्पादन गर्ने उद्देश्यसहित यहीँ मंसिर १४ गते आइतबारदेखि प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा २७ विद्यालयका ३० टिमबीच प्रतिष्पर्धा हुने शुक्रबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
विद्यालयका प्राचार्य शंकर भण्डारीले पहिलो संस्करणको प्राप्त सफलताबाट प्रेरित भएर यो वर्ष झनै सुदृढ र व्यवस्थित रुपमा प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगितामा २६ संस्थागत र ४ सामुदायिक विद्यालयको सहभागिता रहने छ । १९ गतेसम्म चल्ने प्रतियोगिता सिद्देश्वरी माविको खेल मैदानमा सञ्चालन हुनेछ । सो अवसरमा टाई सिट पनि सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार, उत्कृष्ट गोलरक्षकले २ हजार ५००, उत्कृष्ट गोल स्कोररले २ हजार ५००, हरेक खेलको म्यान अफ दिन म्याचले ५५५ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक पवन बस्यालले जानकारी दिए ।
गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कूल र नविन कदरबहादुर रीता मावि रहेका थिए । प्रतियोगिता सम्पन्न गर्न ५ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने विद्यालयका प्राचार्य भण्डारीको भनाइ छ । विद्यालयले पढाईसँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको छ । लगतै कक्षा ४ देखि ७ सम्मका विद्यार्थीलाई चाइनिज भाषा पनि सिकाउने गरी कक्षा सञ्चालनको तयारीमा छ ।
