एनपिएल: जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा

मेचीकाली संवाददाता

२० मंसिर २०८२, शुक्रबार
13 shares

बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको महत्वपूर्ण खेलमा जित निकालेसँगै लुम्बिनी लायन्स शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । लिगको आफ्नो अन्तिम खेलमा साविक विजेता जनकपुरलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले प्लेअफमा स्थान पक्का गरेको हो । यसअघि सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाएका थिए । यससँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिएका छन् । कर्णाली याक्स यसअघि नै बाहिरिएको थियो ।

सुदूरपश्चिमले शीर्ष स्थान पक्का गरिसकेको छ । अब शनिबार हुने सुदूरपश्चिम र विराटनगर किंग्सबीचको खेलले दोस्रो हुने टोलीको टुंगो लाग्नेछ । विराटनगरका लागि दोस्रो हुन ठूलो अन्तरको जित आवश्यक छ । विराटनगरले सानो अन्तरको जित वा पराजय भोगेमा काठमान्डु दोस्रो हुनेछ । विराटनगर तेस्रो र लुम्बिनी चौथो हुनेछन् ।

लुम्बिनी लायन्स प्लेअफमा पुगेसँगै शनिबार हुने चितवन र पोखराबीचको दोस्रो खेल तथा आइतबार राति कर्णाली याक्स र जनकपुरबीच हुने खेल औपचारिकतामै सीमित हुनेछ । यी दुई खेलले प्लेअफमा कुनै अर्थ राख्नेछैन । अंक तालिकाको शीर्ष दुई टोलीले मंगलबार पहिलो क्वालिफायर खेल्नेछन् । जित हात पार्ने टोली मंसिर २७ गते हुने फाइनलमा पुग्नेछ । हार्ने टोलीले दोस्रो क्वालिफायरमा पुगेर फाइनल पुग्ने अवसर प्राप्त गर्नेछ ।

तेस्रो र चौथो हुने टोलीले बुधबार इलिमिनेटर खेल्नेछन् । इलिमिनेटरको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिनेछ । बिहीबार दोस्रो क्वालिफायर हुनेछ । जित हात पर्ने टोली फाइनल पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

लगातार तेस्रो जित निकाल्दै लुम्बिनी शीर्ष चारमा
लगातार तेस्रो जित निकाल्ने क्रममा लुम्बिनीले शुक्रबार जनकपुरले दिएको १३३ रनको लक्ष्य ६ विकेटको क्षतिमा १९.१ ओभरमा पूरा ग¥यो । यसअघि लुम्बिनीले पाँचौ खेलमा पोखरा र छैटौं खेलमा विराटनगरलाई पराजित गरेको थियो । लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले ३४ रनको योगदान गरे । रोहितले १२औं ओभरमा मयन यादवबाट एलबिडब्लू आउट हुनुअघि ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यसअघि ओपनर सुमित महर्जन गोल्डेन डकआउट भए। उनलाई इनिङको पहिलो बलमा संगिथ कुरेले बोल्ड गरेका थिए ।

अर्का ओपनर डार्शी सटले भने ३० रन बनाए । आठौैं ओभरमा कुरेकै एलबिडब्लूको धरापमा पर्नुअघि सटले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे । खेलमा रोमाञ्चकता त्यतिबेला थपियो जतिबेला लुम्बिनीका रोहित आउट भए लगत्तै अर्को बलमा जनकपुरले सन्दीप जोरालाई शून्यमा पेभिलियन फर्कायो । १२औैं ओभरको पाँचौ बल र छैटौं बलमा मयनले दुवैलाई एलबिडब्लूको धरापमा पार्दा लुम्बिनीका चार ब्याटर आउट भए। यो ओभरमा मयनले २ विकेट लिँदा ३ रन मात्र दिएका थिए ।
त्यसपछि निरोशन डिक्वेला र जेजे स्मिटले लुम्बिनीलाई अघि बढाए । डिक्वेला २४ रनको साझेदारी भयो । डिक्वेला १६औं ओभरमा सञ्जय कृष्णमूर्तिबाट फेरि एलबिडब्लू आउट भए । त्यतिबेला लुम्बिनीलाई जितका लागि २५ रन चाहिएको थियो । अन्त्यमा जेजे २१ रन बनाएर आउट हुन पुगे । उनी १८औं ओभरको पाँचौ बलमा कृष्णमूर्तिको बलमा अनिल साहबाट बाउन्ड्रीमा क्याच भए । अन्तिम ओभरमा तीन रन चाहिएको बेला पहिलो बलमा दिलीप नाथले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए । नाथले नटआउट १५ रन बनाए भने ट्रम्पलम्यानले नटआउट ६ रन बनाए । १९औं ओभरमा ट्रम्पलम्यानको क्याच मिस हुँदा जनकपुरको आशा सकिएको थियो ।

बलिङमा जनकपुरका संगिथ कोरीले ३ विकेट लिए भने मयन यादवको नाममा २ विकेट रह्यो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३२ रन बनायो । खराब सुरूवात गरेको जनकपुरका लागि संगिथ कुरेले नटआउट ४५ रन बनाए । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । मयन यादवले २३ बलमा नटआउट २७ रन बनाउने क्रममा १ चौका र १ छक्का प्रहार गरे ।

उसका ओपनर माज सदाकत ६ रनमा जेजे स्मिटको बलमा विकेटकिपर निरोशन डिक्वेलाबाट इनिङको पाँचौ बलमै आउट भए । चौथो ओभरमा अनिलकुमार साह ७ रन बनाएर पेभिलियन फर्के। अनिल रुबेन ट्रम्पलम्यालनलाई चौका प्रहार गरे लगत्तै एलबिडब्लूको धरापमा परे । पावरप्लेमा तेस्रो विकेट गुमाउने क्रममा जनकपुरका ओपनर आशिफ शेख २० रनमा शेर बल्लको बलमा ट्रम्पलम्यानबाट क्याच भए। आशिफले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
शुभ कंसाकारले ११ रन जोड्न सके । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले १४औं ओभरमा लगातार २ विकेट लिए । उनले दोस्रो बलमा सञ्जय कृष्णमूर्तिलाई डार्शी सटबाट क्याच गराए । उनले ११ बलमा १४ रनको योगदान गरे । लगत्तै अर्को बलमा कप्तानको भूमिकामा रहेका यान निकोल लफ्टी इटन एलबिडब्लूको धरापमा परे ।

बलिङमा लुम्बिनीका शेर मल्ल र रोहित पौडेलले २–२ विकेट लिए । मल्लले ४ ओभरमा २० रन दिए भने पौडेलले २ ओभरमा १५ रन खर्चिए । जेजे स्मिट र ट्रम्पलम्यानले १–१ विकेट हात पारे । यसअघिका दुई खेलमा कप्तानी गरेका वायन पार्नेलको स्थानमा नामिबियाका यान निकल लफ्टी इटनले जनकपुरको कप्तानी गरेका थिए । त्यसअघि जनकपुरको कप्तान अनिलकुमार साह थिए ।
लुम्बिनी लायन्समा रोहित पौडेल (कप्तान) सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, सुमित महर्जन, तिलकराज भण्डारी, जेज स्मित, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर), डार्शी शर्ट रहेका छन् ।