बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संकरणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्ने भएका छन् । शनिबारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सनसनीपूर्ण जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान बनाएको हो ।
१४८ रनको लक्ष्य ११.५ ओभरमै पूरा गर्दै विराटनगरले जित हात पा¥यो । यो जितसँगै विराटनगर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । काठमान्डौँ गोर्खाजसँग समान १० अंक भएपनि विराटनगर रनरेट अघि रहेको हो । यसअघि सुदुरपश्चिमले शीर्ष स्थान बनाइसकेको थियो । शनिबारको खेलमा पराजित भएसँगै उसको लगातार ६ खेलको अपराजित यात्रामा ब्रेक लागेको छ । अंक तालिकामा सुदूरपश्चिम १२ अंकसहित पहिलो, विराटनगर १० अंकसहित दोस्रो, काठमान्डौं १० अंकसहित तेस्रो र लुम्बिनी लायन्स ८ अंकसहित चौथो स्थानमा छन् ।
अब सुदूरपश्चिम र विराटनगरबीच मंगलबार पहिलो क्वालिफायर हुनेछ । जित हात पार्ने टोली आगामी शनिबार हुने फाइनलमा पुग्नेछ । हार्ने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायनरमा अवसर पाउनेछ । बुधबार इलिमिनेटरको खेलमा काठमान्डौँ र लुम्बिनी भिड्नेछन् । जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर जित्ने टोली फाइनलमा पुग्नेछ ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १४७ रन बनाएको थियो । विराटनगरले उक्त लक्ष्य १३.५ ओभर अगाडि नै पूरा गरेमा काठमाडौंलाई पछि पार्दै दोस्रो हुने थियो । त्यही अनुसार फाफ डु प्लेसी र साम हिजलेटले आक्रमक ब्याटिङ गरेपछि १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ५१ रन बनाए भने डु प्लेसीले ५० रन बनाए । १४८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि फाफ डु प्लेसी र साम हिजलेटले ओपनिङ गर्दै आक्रमक सुरुवात दिलाएका थिए । यो जोडीले पावरप्लेमा अहिलेसम्मकै कीर्तिमानी ८७ रनको साझेदारी ग¥यो । यस्तै डु प्लेसीले १९ बलमै अर्धशतक बनाउँदै एनपीएलमा संयुक्त रुपमा दोस्रो छिटो अर्धशतक पूरा गरे । अर्धशतक प्रहार गरेलगत्तै अर्को बलमा उनी आउट भए । २० बल खेलेका डु प्लेसीले ५ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै हिजलेट पनि अर्धशतक बनाएलगत्तै आउट भए । हिजलेटले २७ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५१ रन जोडे । यस्तै वान डाउनमा ब्याटिङ गरेका मार्टिन गप्टिलले पनि आक्रमक ब्याटिङ गर्दै ९ बलमा २२ रन योगदान गरे । यसक्रममा उनले ३ छक्का प्रहार गरे । प्रतिश जिसीले ३ बलमा २ छक्का मदतमा अविजित १३ रन बनाए । बलिङमा सुदूरपश्चिमका लागि अविनश बोहराले २ तथा हर्मित सिंहले १ विकेट लिए ।
त्यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका ३ छकक् मदतमा अविजित रहँदै ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३५ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३८ रन जोड । तेस्रो विकेटका लागि इशान पाण्डे र आरिफ शेखले ७२ रनको साझेदारी गरेका थिए ।
यस्तै ओपनर जोश ब्राउनले २५ बलमा २४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्का प्रहार गर्दै १९ रन बनाए । विनोद भण्डारीले १३ बलमा १५ रन जोडे । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभर मात्र बलिङ गरेका प्रतिश जिसीले ४ रन खर्चेर २ तथा बसिर अहमदले १ विकेट लिए ।
यस्तैगरी शनिबार नै भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ । चितवनले दिएको १२१ रनको विजयी लक्ष्य पोखराले १९.४ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो ।
पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे । उनले ५३ बल खेल्दै एक छक्का र दुई चौका प्रहार गरे ।
पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ र अल्पेश रामजानीले अविजित ३३ रन बनाए । पोखराका धनन्जय लक्षनले ३ विकेट लिए । लिग चरणको अन्तिम खेल आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ ।
