एनपीएलमा च्याम्पियन बन्यो लुम्बिनी

मेचीकाली संवाददाता

२९ मंसिर २०८२, आईतवार
19 shares

रमेश पराजुली

बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । सुदूरपश्चिम भने लगातार दोस्रोपटक फाइनलमा पराजित हुन पुग्यो । यसअघि पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिमको टोली जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

दोस्रो संस्करणमा लुम्बिनी लायन्सको ‘च्याम्पियन यात्रा’ निकै रोचेक रह्यो । पहिलो खेल जितेर राम्रो सुरूवात गरे पनि लुम्बिनी त्यसपछिका तीन खेलमा लगातार पराजित भएको थियो । त्यसपछि लुम्बिनी यो सिजन पनि संकटमा परेको थियो । गत सिजन अंक तालिकाको पुछारमा रहेर बाहिरिने पहिलो टोली बनेको लुम्बिनीका लागि यो सिजन पनि अवस्था आएपछि फ्यान मात्र होइन टिम लगानीकर्ताले पनि सामाजिक सञ्जालबाट निराशा व्यक्त गरेका थिए ।

तर चौथो खेलपछि प्रत्येक खेल लुम्बिनीका लागि नकआउट जस्तै थियो । एक खेल हारेमा उसको ‘खेल खत्तम’ हुने स्थिति थियो तर उसले लिग चरणमा पाँचौँ खेल जितेर आशा बढायो । त्यसपछि छैटौं र सातौ खेल जितेर प्लेअफमा स्थान पक्का ग¥यो। यतिमा मात्र रोकिएन लुम्बिनी, एलिमिनेटरको ‘नकआउट खेलमा’ काठमाडौँ गोर्खाजलाई पाखा लगायो । दोस्रो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय जित निकालेर फाइनलमा स्थान बनायो । फाइनलमा पनि लुम्बिनीको रवाफ उस्तै रह्यो। प्रतियोगिताकै सबैभन्दा राम्रो मानिएको सुदूरपश्चिम रोयाल्समाथि सहज जित निकाल्यो । लुम्बिनी पछिल्ला ६ खेलमा अपराजित रहदा सिजनको च्याम्पियन बन्न सफल भयो ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सकेको थियो । दोस्रो सिजनको एनपिएलमा पहिले ब्याटिङ गर्ने टोलीले बनाएको यो नै सबैभन्दा कम स्कोर हो । यसअघि लुम्बिनी लायन्सविरुद्ध नै पोखरा एभेन्जर्स १११ रनमै अलआउट भएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी लायन्सले नौ ओभरमै केवल ४ विकेट गुमाएर विजय लक्ष्य पूरा ग¥यो । दोस्रो सिजनको एनपीएलमा लुम्बिनीले सबैभन्दा छिटो विजय लक्ष्य पूरा गरेको हो ।

लुम्बिनी लायन्सको जितमा ओपनर ब्याट्सम्यान दिनेश अधिकारीले ४२ रनको योगदान गरे । उनले प्रारम्भदेखि नै आक्रामक पाली खेल्दै केवल १३ बलमा पाँच छक्का र एक चौका हिर्काए । अर्का ओपनर डी’आर्ची सर्टले पनि १३ बलमा तीन चौकाको मद्दतले १४ रन बनाए । कप्तान रोहित पौडेलले १२ बलमा एक छक्का र दुई चौकाको मद्दतले १६ रन जोडे । निरोसन डिक्वेलाले अविजित ११ रन बनाए । सुदूरपश्चिमका बलर हेमन्त धामीले दुई तथा अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

त्यसअघि, सुदूरपश्चिमका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै सुदूरपश्चिमले ६ विकेट गुमाइसकेको थियो । प्रारम्भदेखि नै सुदूरपश्चिमका ब्याट्सम्यान लुम्बिनीका बलरको दबाबमा परेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा ओपनर इशान पाण्डेले ५१ बलमा एक चौकाको मद्दतले ३३ रन बनाए ।

अर्का ओपनर विनोद भण्डारी शून्य रनमै पेभेलियन फर्किए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सिल्डन ज्याक्सन पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । अनुभवी खेलाडी आरिफ शेख पनि ६ रन बनाउँदै आउट भए । दीपक बोहरा र पुनित मेहराले त खातासम्म खोल्न सकेनन् । ११ औं ओभरको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिए । रोहितले ११ औं ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी (१३ रन) लाई रुवेन ट्रम्पलम्यानद्वारा क्याच गराए ।

सोही ओभरको पाँचौँ बलमा रोहितले दीपक बोहरा (शून्य रन) लाई सन्दीप जोराद्वारा क्याच गराए । त्यसलगत्तै छैटौं बलमा रोहितले पुनित मेहरा (शून्य रन) लाई एलबीडब्लूको धरापमा पारे । छैटौँ विकेट गुमाउँदा सुदूरपश्चिम रोयल्सले केवल ४४ रन बनाउन सकेको थियो । हरमित सिंहले ११ बलमा एक छक्काको मद्दतले १० रन बनाए । स्कट कुग्गेलियनले आठ बलमा एक छक्काको मद्दतले १० रन बनाए । हेमन्त धामीले अविजित सात र अविनाश बोहराले एक रन बनाए । लुम्बिनी लायन्सका बलर रोहित पौडेलले ह्याट्रिकसहित तीन विकेट लिए । उनले किफायती बलिङ गर्दै केवल १२ रन खर्चिए । शेर मल्लले पनि तीन विकेट हात पारे । उनले पनि निकै किफायती बलिङ गर्दै चार ओभरमा केवल १८ रन खर्चिए । रुवेन ट्रम्पलम्यानले पनि तीन विकेट लिए । उनले २.१ ओभरमा केवल तीन रन खर्चिए । तिलक भण्डारीले पनि एक विकेट कुम्ल्याए । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रूपमा ४ रन पायो ।

रोहित बने उत्कृष्ट खेलाडी, जिते कार र बाइक
लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेका कप्तान रोहितकुमार पौडेल सिजनको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनी नेपाली खेलाडीमध्येबाट उत्कृष्ट भएका हुन् । टोलीलाई च्याम्पियन बनाउन ब्याटिङ र बलिङमा योगदान गरेका रोहितले जेको जे–५ कार पाएका छन् । यो इभी कारको बजार मूल्य ६१ लाख रूपैयाँ पर्छ । प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहितनै घोषित भएका छन् । उनले कारसँगै पल्सर बाइक पनि प्राप्त गरेका छन् ।

लुम्बिनीको च्याम्पियन यात्रामा कप्तान रोहितकुमार पौडेलको ब्याटबाट अर्धशतक त निस्किएन तर उनी सर्वाधिक रन प्रहार गर्ने खेलाडीको दोस्रो स्थानमा तथा नेपाली ब्याटरमा शीर्ष स्थानमा रहे । उनले १० खेलमा २७६ रन रन प्रहार गरे । शीर्ष स्थानमा रहेका पोखराका एडम रोसिङटनले ३२३ रन प्रहार गरेका थिए । तेस्रो स्थानमा रहेका सुदूरपश्चिमका विनोद भण्डारीले २६४ रन बनाए । रोहितले बलिङतर्फ उनले १० विकेट लिने भने सर्वाधिक विकेट लिने बलरको दशौं स्थानमा रहे ।

यस्तै रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भएका छन् । १५ विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका कप्तान सन्दीप लामिछाने घोषित भए । उनले पनि पल्सर बाइक प्राप्त गरे ।

लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भएका छन् । उनले पल्सर बाइक प्राप्त गरेका छन् । फाइनलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमन घोषित भएका छन् ।