टोपलाल अर्याल
गुल्मी । बिपि पार्कमा भएको राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान र नेपाल पत्रकार महासंघ, गुल्मीबीच मैत्रीपूर्ण क्रिकेटले गला र कलमबीचको मित्रता अझै प्रगाढ बनाएको थियो । लेख्ने पत्रकार र गाउने तथा नाच्ने कलाकारको व्यबसायिकता खेल अर्थात गला र क्रिकेट थिएन । तर बिश्वमा प्रतिष्ठा कमाइरहेको खेल र बिपि पार्क खेल मैदानको प्रचारको लागि पत्रकार र कलाकार बल र ब्याट छोपेर मैदान छिरे । यो एउटा उर्जा र हार्दिकता मात्र थियो । खेल मैदानमा दुई समुह बनेर प्रवेश गरेपछि प्रतिस्पर्धा पनि निकै रमाइलो बन्यो । अन्ततः आयोजकनै बिजयी बन्यो ।

टसबाट पहिलो ब्याटिङ्ग रोजेको लोक दोहोरीले दुई विकेटकाे क्षतिमा एक सय ९५ रनकाे लक्ष्य दिएको थियाे । पत्रकार महासंघले चार विकेटकाे क्षतिमा एक सय २६ रन बनायाे । लाेक दाेहाेरीका लागि हिमाल कुँवर र बाबुराम पाण्डेले अर्धशतक बनाए । खेलमा दुई विकेट समेत लिएका लाेक दाेहाेरीका पाण्डे म्यान अफ द म्याच भए ।
इस्मा गाउँपालिकाका प्रमुख भगत सिह खडकाले खेलको उद्घाटन गर्दै इस्मामा मात्रै नभई समग्र जिल्लाकै खेल क्षेत्रलाई टेवा दिने उदेश्यले झरनामा खेल मैदान निर्माण गरिएको बताउँदै पत्रकार र कलाकारको यो मित्रता र खेलले मैदानको प्रचार तथा आवस्यकता उजागर गरेको बताउनुभयो । कार्यक्रममा लाेक दाेहाेरी गीत प्रतिस्ठानलाई जर्सी साैजन्य गर्ने पिक फाउन्डेसनका राेहित पाण्डेलाई विशेष सम्मान गरिएको थियाे । त्यसैगरी पत्रकार महासंघ, सल्लाहकार, गुल्मीका प्रहरी उपरीक्षक लगायतलाई मायाकाे चिनाे प्रदान गरिएको थियाे ।

कार्यक्रममा उपाध्यक्ष पार्वती कुँवर, पूर्व उपाध्यक्ष बिमला खत्री, सस्थाका केन्द्रीय सचिव दिपक गराैजा, गुल्मीका प्रहरी उपरीक्षक नारायण अधिकारी, इस्मा गाउँपालिका १ का वडाध्यक्ष शेर बहादुर कुँवर, पत्रकार महासंघका अध्यक्ष अनिल खत्री, संस्थाका पूर्व अध्यक्ष खुम खत्री, जनक पन्थ, बसन्त खत्री लगायतको सहभागीता रहेको थियो । कार्यक्रमका अध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष माेहन बस्नेतले मैत्रीपुर्ण खेलले आगामी दिनमा अझै नवीन काम गर्ने उर्जा प्राप्त भएको बताउनुभयो । खेलले भावना र मित्रतामा एकता र प्रगाढता थप्ने भएकाले आयोजना गरिएकोले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
