बुटवलमै छ हातसम्बन्धी जटिल रोगको विशेषज्ञ उपचार

मेचीकाली संवाददाता

२ बैशाख २०८३, बुधबार
24 shares

अमृत गिरी

बुटवल । केही वर्षअघिसम्म दुर्घटना, चोटपटक वा जन्मजात समस्याका कारण हातखुट्टामा गम्भीर समस्या देखिएका बिरामीका लागि उपचार निकै कठिन थियो । हात भाँचिने, नसाहरू चुँडिने, औँलाहरू नचल्ने वा एकआपसमा जोडिने समस्या भए बिरामीले आजीवन त्यही पीडा बोकेर बाँच्नुपर्ने अवस्था थियो । धेरैजसो बिरामीलाई उपचारका लागि काठमाडौं वा भारतसम्म पुग्नुपर्ने बाध्यता थियो ।

तर अहिले बुटवलमै हातसम्बन्धी जटिल रोगको आधुनिक उपचार सेवा सुरु भएको छ । बुटवलमा हात तथा माथिल्लो अङ्ग शल्यक्रियाको विशेषज्ञ सेवा उपलव्ध छ । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि र अन्य केही अस्पतालहरुमा यो सेवा सुरु भएको छ । हात तथा माथिल्लो अङ्ग शल्यक्रियाका विशेषज्ञ डा.विकास न्यौपाने नेतृत्वको टिमले अहिले बुटवल हस्पिटल प्रालिमा यस्तो सेवा सुरु गरेको छ । यसले यसक्षेत्रका बिरामीहरूमा नयाँ आशा पलाएको छ ।

विशेषज्ञ डा.न्यौपानेका अनुसार अहिले हात भाँचिने, नसाहरू चुँडिने, औँलाहरू नचल्ने वा जोडिने, जन्मजात विकृति, प्यारालाइसिस, हात झमझम हुने, सुन्निने, दुख्ने तथा घाँटीदेखि हातसम्म दुखाइ सर्ने जस्ता समस्याको आधुनिक प्रविधिबाट उपचार सम्भव भएको छ । यो उपचार त्यति महँगो पनि छैन । साथै उपचार गर्ने नयाँ प्रविधि र उपकरणको समेत विकास भएकाले बिरामीलाई त्यति पीडा पनि नहुने विशेषज्ञहरु बताउँछन् ।

दुर्घटना, आगलागी, जलेको घाउ वा नसाहरू च्यापिएका कारण बिग्रिएको हातको पनि शल्यक्रियामार्फत उपचार गर्न सकिने गरी उपकरणको विकास भइसकेको डा.न्यौपानेले बताए । ‘पहिले यस्ता बिरामीलाई बाहिर पठाउनुपथ्र्यो । अहिले बुटवलमै आधुनिक प्रविधिसहित उपचार गर्न सकिन्छ,’ डा.न्यौपानेले भने

भारतमा विशेष अध्ययन र अनुभवसँगै निखारिँदै सेवा
हाडजोर्नी तथा हातसम्बन्धी रोगको विशेषज्ञता हासिल गरेका डा.न्यौपानेले भारतमा हात तथा माथिल्लो अङ्ग शल्यक्रियासम्बन्धी विशेष फेलोसिप अध्ययन पूरा गरेका छन् । उनले यसअघि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाल्पाको युनाइटेड मिसन अस्पतालमा पनि हात तथा हाडजोर्नी उपचारमा काम गरिसकेका छन् ।

अध्ययन र अनुभवसँगै दक्षतामा थप निखारता ल्याउने उनको अभ्यास सराहनीय छ । लामो समयको अनुभवपछि उनले बुटवलमै पहिलोपटक हातसम्बन्धी जटिल रोगको विशेषज्ञ सेवा सुरु गरेका हुन् । यसबाट रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत जिल्लाका बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

‘अहिले हात भाँचिने, नसाहरू चुँडिने, औँलाहरू नचल्ने वा जोडिने, जन्मजात विकृति, प्यारालाइसिस, हात झमझम हुने, सुन्निने, दुख्ने तथा घाँटीदेखि हातसम्म दुखाइ सर्ने जस्ता समस्याको आधुनिक प्रविधिबाट बुटवलमै उपचार सम्भव भएको छ ।’

डा.विकास न्यौपाने
हात तथा माथिल्लो अङ्ग शल्यक्रिया विशेषज्ञ

‘दूरपिन’ प्रविधिबाट सानो चिरफारमै उपचार
डा.न्यौपानेका अनुसार अहिले उपचारमा ‘दूरपिन’ अर्थात् एन्डोस्कोपी वा आथ्र्रोस्कोपी प्रविधि प्रयोग गरिन्छ । यस प्रविधिबाट धेरै ठुलो चिरफार नगरी सानो प्वाल वा चिराबाटै शरीरभित्रको समस्या पहिचान गरी उपचार गर्न सकिन्छ । यसले बिरामीलाई कम पीडा हुने, छिट्टै निको हुने, रगत कम बग्ने र अस्पतालमा लामो समय बस्नुनपर्ने फाइदा हुने चिकित्सकहरूको भनाइ छ ।
विशेषगरी नसाहरू च्यापिने, हात झमझम हुने, औँलाहरू बांगिने, जोर्नी खिइने, हड्डी भाँचिने वा दुर्घटनापछि हातले काम गर्न नसक्ने अवस्थामा यो प्रविधि प्रभावकारी हुने डा.न्यौपानेले बताए । उपचारसँगै बिरामीको पुनःस्थापना र परामर्शलाई पनि विशेष प्राथमिकता दिइने उनले बताए । प्रत्येक बिरामीको अवस्थाअनुसार छुट्टाछुट्टै उपचार योजना तयार गरिने उनको भनाइ छ ।

समयमै उपचार नगरे के हुन्छ ?
विशेषज्ञहरूका अनुसार हातसम्बन्धी समस्या लामो समयसम्म बेवास्ता गर्दा हातको चलायमान क्षमता घट्ने, औँलाहरू स्थायी रूपमा बांगिने, नसाहरू क्षति हुने, मांसपेशी सुक्दै जाने र दैनिक काम गर्न नसक्ने अवस्था आउन सक्छ । विशेषगरी राति हात झमझम हुने, हातमा बल कम हुने, औँलाले वस्तु समात्न नसक्ने, औँला बांगिन थाल्ने वा घाँटीदेखि हातसम्म दुखाइ सर्ने समस्या देखिए तत्काल विशेषज्ञसँग परामर्श लिनुपर्ने चिकित्सकहरूको सुझाव छ । समयमै उपचार गरेमा जटिलता घट्ने, शल्यक्रिया बिना पनि धेरै समस्या समाधान गर्न सकिने र बिरामीलाई सामान्य जीवनमा फर्काउन सकिने उनीहरूको भनाइ छ ।

हातसम्बन्धी रोग किन बढ्दै छन् ?
बुटवल, वैशाख २ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार पछिल्लो समय हातसम्बन्धी रोग र समस्या बढ्दो क्रममा छन् । यसको प्रमुख कारण बदलिँदो जीवनशैली, लामो समय कम्प्युटर वा मोबाइलको प्रयोग, औद्योगिक काम, सवारी दुर्घटना र श्रमजन्य कामलाई मानिएको छ । डा.न्यौपानेका अनुसार अहिले धेरै बिरामी हात झमझम हुने, सुइले घोचेजस्तो हुने, राति बढी दुख्ने, काम गर्दा छिट्टै दुखाइ बढ्ने तथा घाँटीदेखि हातसम्म दुखाइ सर्ने समस्या लिएर आउने गरेका छन् ।

‘धेरैले यस्ता लक्षणलाई सामान्य ठानेर बेवास्ता गर्छन् तर समयमै परीक्षण र उपचार नगरेपछि समस्या जटिल बन्छ,’ उनले भने । उनका अनुसार नसाहरू च्यापिने, औँलाहरू बांगिने, जोर्नी खिइने, हात चलाउन नसकिने, जन्मजात रूपमा औँलाको असामान्यता हुने तथा दुर्घटनाबाट हड्डी र नसा क्षति हुने समस्या अहिले बढ्दो छ । विशेषगरी औद्योगिक क्षेत्रमा काम गर्ने, लामो समय कम्प्युटर प्रयोग गर्ने, अत्यधिक दोहोरिने हातको काम गर्ने र सवारी दुर्घटनामा परेका व्यक्तिमा यस्ता समस्या बढी देखिने चिकित्सकहरूको भनाइ छ ।