रमेश पराजुली
बुटवल। आइतबार हरितालिका (तीज) को दर खाने दिन । गाउँघरमा दिदीबहिनी जम्मा हुँदै थिए । कतै दर पकाइँदै थियो, कतै तीजका गीत गुञ्जिँदै थिए । तीज नेपाली महिलाका लागि केवल एउटा पर्व होइन, माइतीसँगको भावनात्मक सम्बन्ध जोड्ने अवसर पनि हो । विवाहपछि माइतीघर जान पाउनु, आमाबुबा तथा दाजुभाइ–दिदीबहिनीसँग भेट्नु र केही समय पुराना सम्झनामा रमाउनु चेलीहरूका लागि विशेष हुन्छ ।
गुल्मीको मुसिकोट नगरपालिका–५ इन्द्रेगौंडाकी २९ वर्षीया कल्पना पुन आइतबार त्यही उत्साह बोकेर घरबाट निस्किएकी थिइन् । गन्तव्य थियो–इस्मा गाउँपालिका–४ हुलमा रहेको माइतीघर । उनको साथमै थिए दुई सन्तान छोराछोरी । कल्पनाको माइती जाने बाटोमा निस्ती खोला पर्छ । मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सीमामा पर्ने निस्ती खोलामा पुग्दा साँझको करिब ७ बजेको थियो । वर्षातको समय भएकाले खोलामा पानीको बहाव बढेको थियो । उनले सुरुमा आफ्ना दुई छोराछोरीलाई खोला तारिन् । त्यसपछि पारि रहेको झोला लिन जानेक्रममा उनलाई अचानक खोलाले बगायो । कल्पना खोलाको भेलमा हराइन् । माइतीघर पुग्ने हतार र तीजको उत्साहबिच त्यो खोला कल्पनाका लागि यति ठुलो जोखिम बन्ला भन्ने सायद कसैले सोचेको थिएन । छोराछोरी भने सकुसल छन् ।
तीजको दिन माइतीघरमा पुगेर आमाबुबा, दिदीबहिनी र आफन्तसँग खुसी साट्ने कल्पनाको यात्रा भने माइतीको आँगनसम्म पुग्न पाएन । माइतीघर नजिकै पुगेकी उनी निस्ती खोलाको भेलसँगै अस्ताइन् । कल्पना खोलामा बेपत्ता भएपछि हुलस्थित माइतीघरमा छोरी आउने प्रतीक्षा एकाएक शोकमा बदलियो । घटनाबारे खबर पाएपछि स्थानीयवासी र प्रहरी उनको खोजीमा जुटे । कल्पनाको खोजिका लागि इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली परिचालन गरिएको थियो । स्थानीयवासीसमेत खोजीमा जुटे । अँध्यारो हुँदै गएपनि खोलाको किनार, सम्भावित स्थान र आसपासका क्षेत्रमा राति अबेरसम्म खोजी गरियो तर केही पत्तो लागेन ।
रातभरको चिन्ता र प्रतीक्षाबिच परिवारले कल्पना सकुशल भेटिने आशा गरिरह्यो । सोमबार पनि खोजी रोकिएन । बिहानैबाट प्रहरी र स्थानीयवासीले निस्ती खोलाको बहावसँगै सम्भावित स्थानहरूमा खोजी जारी राखे । अन्ततः सोमबार दिउँसो घटनास्थलभन्दा करिब एक किलोमिटर टाढा ठुला पहिरा क्षेत्रमा खोलाको बिचमा ढुंगामा अड्किएको अवस्थामा कल्पनाको शव भेटियो । खोजीमा जुटेकाहरूले शव देखेपछि सकुशल भेटिने परिवारको आशा एकैछिनमा चकनाचुर भयो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार स्थानीयवासी र प्रहरीको संयुक्त खोजीका क्रममा शव फेला परेको हो । ‘आइतबार साँझ खोलाले बगाएकी महिलाको शव सोमबार भेटिएको छ,’ प्रहरी नायब उपरीक्षक विश्वकर्माले भने, ‘शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको छ ।’
निस्ती खोला आसपासका बस्तीका लागि वर्षायाममा खोला पार गर्नु सामान्य दैनिकी हो । तर, वर्षातको समयमा बढ्ने पानीको बहाव र खोला तर्ने क्रममा हुने जोखिमले पटकपटक दुःखद घटना निम्त्याउने गरेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ का वडा सदस्य रामप्रसाद अर्यालले कल्पनाको मृत्युले सिंगो गाउँनै शोकमा डुबेको बताए । ‘दुःखद घटना भयो, कल्पनाको मृत्युले सिंगो गाउँ नै शोकमा डुबेको छ,’ अर्यालले भने । कल्पनाको स्थायी घर मुसिकोट नगरपालिका–४ भए पनि उनको परिवार लामो समयदेखि वडा नम्बर ५ मा बस्दै आएको थियो । गाउँमै कृषि कर्म गर्दै आएका उनका श्रीमान् अब श्रीमती गुमाउनुको पीडासँगै परिवारको जिम्मेवारी एक्लै सम्हाल्नुपर्ने अवस्थामा पुगेका छन् । कल्पनाको निधनसँगै छोराछोरीको पालनपोषण र भविष्य निर्माणको जिम्मेवारी पनि श्रीमान्कै काँधमा आइपरेको छ ।
