नेपाल–चीन यात्रु आवागमन: व्यापार ठप्प, यात्रुका लागि खुले तातोपानी र हिल्सा

रसुवागढी बाढीले अबरुद्ध भएपछि चीनबाट फर्किने यात्रुका लागि तातोपानी र हिल्सा नाका सञ्चालन । भदौ १० देखि २९ सम्म दुवै नाकाबाट ४ हजार २९१ यात्रु नेपाल प्रवेश, कार्गो आवागमन भने अझै बन्द

मेचीकाली संवाददाता

३१ भाद्र २०८३, बुधबार
1 shares

अमृत गिरी

बुटवल । हिमाली सुनामीले रसुवागढी नाकासहितका कैयौं बस्ती र जनधन सखाप पारेपछि नेपाल–चीन नाकाको विकल्पको रूपमा तातोपानी र हिल्सा नाका प्रयोगमा आएका छन् । तर, यी नाकाबाट कार्गो ओसारपसार भने भएको छैन । यी दुई नाकाबाट अहिले यात्रु आवागमन मात्रै खुलेको छ । रसुवाको केरुङ नाका अबरुद्ध भएपछि मानसरोवर–कैलाश दर्शनका लागि चीन पुगेका पर्यटक वैकल्पिक नाकाका रूपमा हुम्लाको हिल्सा र सिन्धुपाल्चोकको कोदारी हुँदै नेपाल फर्कन थालेको अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

रसुवागढी हुँदै चीनको तिब्बत क्षेत्र पुगेकाहरू पनि यही वैकल्पिक नाकाबाट नेपाल प्रवेश गरेका छन् । विशेषगरी तिब्बतको कैलाश–मानसरोवर यात्रा तथा अन्य भ्रमणका लागि चीन प्रस्थान गरेका यात्रुहरू नेपाल फर्कने क्रममा तातोपानी र हिल्सा नाकाबाट प्रवेश गरेको पाइएको विभागका प्रवक्ता ढकालले बताए । भदौ १० देखि भदौ २९ सम्ममा तातोपानी नाका हुँदै जम्मा ३,९०४ जना यात्रु नेपाल प्रवेश गरेका छन् । जसमध्ये १,७३३ जना महिला छन् । सोही अवधिमा ३९१ जना यात्रु तातोपानी नाका हुँदै चीनतर्फ प्रस्थान गरेका छन् । यसैगरी, सोही अवधिमा हिल्सा नाका हुँदै जम्मा ३८७ जना यात्रु नेपाल प्रवेश गरेका छन् ।

नेपाल प्रवेश गरेका यात्रुमध्ये १६५ जना रसुवागढी नाका हुँदै चीन प्रस्थान गरेका यात्रुहरू रहेको विभागले जनाएको छ । सोही अवधिमा हिल्सा नाका हुँदै जम्मा १७८ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन् । यी दुवै वैकल्पिक नाकाबाट आगमन÷प्रस्थान गर्ने विदेशी यात्रुहरुमा सबैभन्दा बढी भारत, बेलायत र अमेरिकाका नागरिकहरू छन् ।

कति छन् नेपाल–चीन नाका ?
नेपाल–चीनको सीमाना उत्तरतिरका धेरै भूगोल भएपनि ती अधिकांश प्राकृतिक र भौगोलिक हिसाबले जटिल र कठिन अवस्थाका छन् । चीनतर्फ नेपालका ६ प्रमुख व्यापारिक÷भन्सार नाका मानिन्छन् । तातोपानी (सिन्धुपाल्चोक), रसुवागढी–केरुङ (रसुवा), हिल्सा–यारी (हुम्ला), कोरला (मुस्ताङ), किमाथांका (संखुवासभा) र ओलाङचुङगोला (ताप्लेजुङ) रहेका छन् ।

यीमध्ये तातोपानी र रसुवागढी परम्परागत मुख्य व्यापारिक नाका भए पनि एक वर्षयता मुस्ताङको कोरला पनि औपचारिक व्यापारिक नाकाका रूपमा सक्रिय भएको छ । चीनतर्फको व्यापारको वैकल्पिक मार्गका रूपमा कोरला नाका मात्रै प्रयोग भइरहेको छ ।
किमाथांका, ओलाङचुङगोला र हिल्सा पूर्ण क्षमतामा नियमित अन्तर्राष्ट्रिय व्यापार सञ्चालनका हिसाबले अझै सीमित छन् । यीमध्येको हिल्सा नाका अहिले यात्रु आवागमनका लागि रसुवा नाकाको विकल्प बनिरहेको छ ।

कोदारी–तातोपानी नाका चीनको झाङ्मुसँग जोडिएको पुरानो र ऐतिहासिक नेपाल–चीन व्यापारिक मार्ग हो । अरनिको राजमार्ग हुँदै काठमाडौंसँग जोडिएको छ । २०७२ को भूकम्पपछि लामो समय प्रभावित भएको यो नाकाबाट केही समय खुलेर अहिले फेरि बन्द छ ।
हिल्सा भने हुम्लाको उत्तरी सीमामा रहेको नेपाल–चीन व्यापार तथा कैलाश–मानसरोवर यात्राको महत्वपूर्ण प्रवेशद्वार हो । हिल्सापारि चीनको बुराङ काउन्टी पर्छ । हिल्सा क्षेत्रबाट कर्णाली नदी पार गरेर चीनतर्फ प्रवेश गरिन्छ । दुवै नाका हिमाली पहिरो, बाढी र सडक अवरोधबाट प्रभावित हुने संवेदनशील क्षेत्रमा छन् । यो नाकालाई हिल्सा–सिमकोट सडकले जोडेको छ । व्यापार, स्थानीय आवागमन र कैलाश–मानसरोवर यात्राको प्रवेशद्वारका रुपमा यो नाकालाई लिइन्छ ।

३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिएको भन्दै उल्लेख गरिएको छ । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिङ्ग नखुलेका नागरिक छन् । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतीय छन् ।

विभागका अनुसार भारतका १८९ नागरिक बेपत्ता भएका छन् । यसबाहेक युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्याण्डका एक, फ्रान्स चार, जर्मनी आठ, हङ्गेरी एक, आइरिस दुई, इजरायल एक, लिथ्वानियाका एक, मलेसियाका ५५, नेदरल्याण्डका दुई जना बेपत्ता भएका छन् । न्यूजरल्याण्डका पाँच, पोर्चुगलका दुई, रसियाका छ, सिङ्गापुरका नौ, साउथ अफ्रिकाका छ, स्पेनका दुई, जापानका पाँच, फिलिपिन्सका एक, काजकिस्तानका तीन, बेल्जियमका दुई, स्वीडेनका एक जना वेपत्ता छन् ।

लाटभियाका ३३, स्वीजरल्याण्डका एक, इटलीका दुई, चीनका ३७, भियतनाम एक, इस्टोनियाका दुई र कोरियाका नौ पर्यटक हराएका छन् ।
बाढीमा परेर नेपालका १८८ पर्यटक वेपत्ता भएका हुन् । विभागका अनुसार वेपत्ता हुनेमा १६१ पुरुष र २७ महिला छन् । वेपत्ता हुनेमा विदेशी पर्यटकको सहयोगीका रुपमा गएका र कैलाश मानसरोवर तथा गोसाईकुण्ड घुम्न गएका नेपाली रहेको विभागका सूचना अधिकारी घिमिरेले बताए ।

दुवै नाकालाई सहज बनाउन समन्वय भइरहेको छ

टीकाराम ढकाल
प्रवक्ता, अध्यागमन विभाग

रसुवागढी नाका अबरुद्ध भएको मिति २०८३ भदौ १० देखि २०८३ साल भदौ २९ सम्मको अवधिमा सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै जम्मा ३,९०४ जना यात्रु नेपाल प्रवेश गरेका छन् । सोही अवधिमा ३९१ जना यात्रु तातोपानी नाका हुँदै चीनतर्फ प्रस्थान गरेका छन् । यसैगरी, सोही अवधिमा हुम्लाको हिल्सा नाका हुँदै जम्मा ३८७ जना यात्रु नेपाल प्रवेश गरेका छन् । नेपाल प्रवेश गरेका यात्रुमध्ये १६५ जना रसुवागढी नाका हुँदै चीन प्रस्थान गरेका यात्रुहरू रहेको देखिएको छ । सोही अवधिमा हिल्सा नाका हुँदै जम्मा १७८ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन् । यी दुवै वैकल्पिक नाकाबाट आगमन/प्रस्थान गर्ने विदेशी यात्रुहरुमा सबैभन्दा बढी भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका नागरिकहरु रहेका छन् । विशेषगरी तिब्बतको कैलाश–मानसरोवर यात्रा तथा अन्य भ्रमणका लागि चीन प्रस्थान गरेका यात्रुहरू नेपाल फर्कने क्रममा तातोपानी र हिल्सा नाकाबाट प्रवेश गरेको पाइएको छ । साथै, चीन प्रस्थान गर्ने यात्रुहरूले समेत यी वैकल्पिक नाकाहरू प्रयोग गर्दै आएका छन् । यी नाकामा अध्यागमन विभागले विशेष समन्वय गरिरहेको छ । यात्रुका लागि सहजता बनाउने काम भइरहेको छ ।