ॐ नमः शिवाय सहकारीको १०औँ वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

३ आश्विन २०८३, शनिबार
1 shares

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–४ रुद्रपुरस्थित ॐ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।

साधारणसभाको संस्थाका कानुनी सल्लाहकार नेत्र पुरीले उद्घाटन गरेका थिए । सोही अवसरमा बोल्दै उनले सहकारीको सफलता सेयर सदस्यको विश्वास, पारदर्शिता र सामूहिक सहभागितामा निर्भर हुने भन्दै सहकारीलाई अझ अनुशासित, जवाफदेही र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।

संस्थाबाट ऋण लगेर एक जना सदस्यले मात्रै फिर्ता नगरेपनि सिंगो संस्थाले नोक्सान बेहोर्नुपर्ने बताउँदै उनले संस्थाले ऋण लगानी गर्दा विशेष ख्याल गर्नुपर्ने बताए । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी सदस्यहरुलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा उनले जोड दिए । पछिल्लो समय केही सहकारी संस्थाले बदमासी गर्दा सहकारी संस्थाप्रतिको विश्वास घटिरहेको भन्दै उनले सहकारी ऐन, नियम र कानुनको परिधिभित्र रहेर सञ्चालनमा रहेका सहकारीमा समस्या नरहेको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष भरथ गिरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै एक वर्षमा सम्पन्न भएका कार्यक्रमहरु र आगामी योजनाबारे जानकारी गराए । दशनामी बन्धुहरुलाई एकताबद्ध गर्न १० वर्षअघि संस्था स्थापना भएको स्मरण गर्दै उनले संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउनका लागि डिजिटल कारोवारलाई प्राथमिकता दिँदै क्यूआर कोडमार्फत मासिक बचत तथा ब्याज रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको बताए । सदस्यहरुलाई सहुलियत ऋण प्रदान गरी उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले नयाँ कार्यक्रम ल्याएको अध्यक्ष गिरीले बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार रोमलाल गिरीले दशनामी बन्धुहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । सहकारी सबैका लागि हो भन्ने मान्यता स्थापित गर्न जरुरी रहेको गिरीले बताए । साधारणसभाले कोषाध्यक्ष दिपा गिरी र लेखा समिति संयोजक विश्वराज गिरीले प्रस्तुत गरेको प्रतिवेदनसमेत पारित गरेको छ । कार्यक्रममा सहकारीका ज्येष्ठ शेयर सदस्य शान्तिदेवि गिरी र तुल्सी गिरी, उत्कृष्ट बचतकर्ता लक्ष्मण गिरी, असल कारोबारी ज्ञानु गिरी, सदस्य बढाउन महत्वपूर्ण भूमिका खेल्ने शेयर सदस्य सीता गिरीलगायतलाई सम्मान गरिएको थियो ।

हाल सहकारीमा ५४६ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी ७५ लाख ८८ हजार ३०० रहेको छ भने ३ करोड ४३ लाख ३३ हजार ७६७ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाले आव ०८२/०८३ मा ९ लाख ३५ हजार ६२५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । भने संस्थाले यसवर्ष सदस्यहरुलाई ९ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । संस्थाले बुटवलको इट्टाभट्टीमा कार्यालय सञ्चालन गरी सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाका उपाध्यक्ष मिनुता गिरीको स्वागत, व्यवस्थापक संगिता गिरी पुरीको सहजिकरण तथा सल्लाहकार विष्णु पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।