बुटवलमा जिडब्लुएमको नयाँ सोरुम सञ्चालन, ओरा ५ र जोलियन म्याक्स इभी सार्वजनिक

मेचीकाली संवाददाता

४ आश्विन २०८३, आईतवार
1 shares

बुटवल । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालको बुटवलस्थित आधिकारिक क्षेत्रीय डिलर सहर्सा इन्टरप्राइजेज कालिकानगरमा नयाँ सोरूम सञ्चालनमा आएको छ । आइतबार सोरूम उद्घाटनसँगै जीडब्लूएम ओरा ५ र हाभल जोलियन म्याक्स इभी पनि बुटवलमा सार्वजनिक गरिएको छ । कम्पनीका अनुसार सार्वजनिक भएका दुईवटै गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, एआइ फिचर, उच्च सुरक्षा मापदण्ड तथा अन्य प्रिमियम सुविधाहरू समावेश छन् ।

ओरा ५ मा ५८.३ किलोवाट आवरको ब्याट्री र ५२० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ । यसमा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहित प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, १८० डिग्री च्यासिस भ्यू क्यामेरा तथा सेल्फ–हिलिङ पेन्ट टेक्नोलोजी जस्ता सुविधा उपलब्ध छन् । ओरा ५ इभीको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, हाभल जोलियन म्याक्स इभीमा १५० किलोवाटको विद्युतीय मोटर र ५८.३ किलोवाट आवरको ब्याट्री छ । यसले ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ । यसमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहित गाडीमा पानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट प्रणाली, एडिएएस र भिटुएल सुविधा छन् । जोलियन म्याक्सको मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ ।

सहर्सा इन्टरप्राइजेजका सञ्चालक केहरसिंह खड्काले आधुनिक सहरका रुपमा विकास भइरहेको बुटवलमा भरपर्दो जीडब्लूएम ब्रान्ड भित्र्याउन पाएकोमा खुसी व्यक्त गर्दै बिक्रीसँगै बिक्रीपछिको गुणस्तरीय सेवा उपलब्ध गराउने बताए । नयाँ सोरूमबाट ग्राहकले बिक्री, सर्भिस र स्पेयर पाट्र्ससहितको ‘थ्री एस’ सेवा एकै स्थानबाट पाउने सञ्चालक खड्काले बताए । लामो समयदेखि अटोमोबाइल क्षेत्रमा आबद्ध व्यवसायी खड्काले सोरूममा जिडब्लुएमका विद्युतीय तथा प्रिमियम गाडीहरू प्रदर्शनीमा राखिने र इभीका लागि आवश्यक प्राविधिक सेवासमेत उपलब्ध हुने जानकारी दिए ।

जिडब्लुएम नेपालका महाप्रबन्धक अधिरकुमार श्रेष्ठले पश्चिम नेपालको केन्द्र बुटवललाई जिडब्लुएमको विस्तारका लागि महत्वपूर्ण बजारका रूपमा लिइएको बताए । उनका अनुसार नयाँ सोरूममार्फत रुपन्देही र आसपासका जिल्लाका ग्राहकलाई जिडब्लुएमका विश्वस्तरीय शून्य उत्सर्जन इलेक्ट्रिक सवारी साधन तथा सेवा सहज रूपमा उपलब्ध हुनेछ । साथै उनले ओरा ५ र हाभल जोलियन म्याक्स इभीको आगमनले बुटवलबासीलाई भरपर्दो, दिगो र उच्च स्तरका यातायातको पहुँच प्रदान गर्ने विश्वास व्यक्त गरे । नयाँ सोरूम सञ्चालनमा आएसँगै ओरा ५ र हाभल जोलियन म्याक्स इभीको बुकिङ तथा टेस्ट ड्राइभ खुला गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेललगायतले नेपालमा पछिल्लो समय विद्युतीय गाडीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको बताए । उनीहरूले विद्युतीय सवारीसाधन धेरै ग्राहकको रोजाइमा पर्न थालेको उल्लेख गर्दै नेपालको सडक अवस्था र आवश्यकतालाई सुहाउँदो तथा सुरक्षालाई प्राथमिकता दिइएका गाडी बजारमा ल्याउनुपर्नेमा जोड दिए। कम्पनीका अनुसार जिडब्लुएमका उत्पादन विश्वका १७० भन्दा बढी देशमा बिक्री हुँदै आएका छन्।